Logo

भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पनि कोरोना नलागोस भनेर बचाउने जिम्मा हाम्रो हो : मन्त्री त्रिपाठी (भिडियोसहित)



काठमाडौं, २६ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर नै लकडाउन लगाएको स्पष्ट पारेका छन् । उनले भने,”हामी लकडाउनलाई यसरी बुझौं, यो कुनै कर्फयु होईन् । यो कुनै राजनीतिक प्रयोजनले आएको होईन् । यो जनताको स्वास्थ्यलाई ध्यानमा राखेर एउटा उपयुक्त बाटोको रुपमा, अहिले जुन प्रकारको विश्व नै असाधारण अवस्थाबाट गुज्रिरहेको छ । र, नेपाल पनि त्यही असाधारण अवस्थाबाट नै गैरहेको छ । हामीले यो लकडाउनलाई उपयुक्त माध्यमको रुपमा लिनुबाहेक अर्को उपायपनि छैन् ।”

मंगलबार राति प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्। सकेसम्म आफूहरुले जनतालाई यो लकडाउनको आदेश पालना गराउन आग्रह गरिरहेको बताउँदै उनले अहिलेसम्मको अवस्थाको मूल्यांकन गर्दा जनताले लकडाउन पालना गरेको नै पाईएको स्पष्ट पारे । उनले लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न र सरकारले आवश्यक खाद्यान्नलगायतका सामग्रीपनि घरघरमै ढुवानी गर्ने भनेर भनिसकेको अवस्थामा त्यतातिर पनि जनताले ध्यान दिनुपर्ने र घरबाहिर निस्कन नहुने विचार राखे ।

मन्त्री त्रिपाठीले विदेशबाट आएका नेपालीहरुको तथ्यांकसमेत आफ्नो मन्त्रालयले एकिन गरिसकेको स्पष्ट पारे । उनले भने,”हामीले वडा कार्यालयहरुसँग आग्रह गरेर त्यो डाटा तयार गरिसकेका छौं । र, क कसलाई राहत दिने भन्ने कुरा पनि तत् तत् वडा र पालिका कार्यालयहरुले नै छुट्याईसकेका छन् । त्यसमा अहिले संकलन र वितरण दुवै कार्य जारी छ । एक लाखभन्दा बढि परिवारलाई राहत वितरण भएको रेकर्ड हिजोसम्म हामीकहाँ आईसक्यो । अरु चाहीँ वितरण हुने क्रममा छ । कार्य जारी छ ।”

उनले कतिपयले खर्च नै नभएको रकममा दुरुपयोग भयो भनेर आरोप लगाउने गरेको भन्दै जसले आरोप लगाएपनि नबुझेर आरोप लगाउने गरेको टिप्पणी गरे । स्वास्थ्य सामग्री खरिद प्रकरणको सवालमा कुरा गर्दै उनले त्यतिवेला मन्त्रालय सामग्री ल्याउने दबाबमा रहेको र त्योसँग सम्झौता चाहीँ विभागले गरेको सुनाए । उनले भने,”जोसँग सामग्री ल्याउने सहमति गरिएको थियो, त्यसले ल्याउन सकेन । र, विभागले सम्झौता रद्द गर्यो । सामग्री ल्याउनको लागि सरकारले फेरि वैकल्पिक बाटो खोलेको छ । त्यो सामग्री हामीलाई चाहिन्छ ।”

अहिलेको यो विषम परिस्थिति देशभरिका कर्मचारीहरुले सरकारलाई सहयोग गरेको पनि उनले विश्वास दिलाए । उनले भने,”यही मन्त्रालयको कुरा गर्दा हामी निश्चित मान्छेमात्रै आएका छौं । अरु कर्मचारीहरुलाई आवश्यक परेको बेलामा बोलाउँछौं भनेका छौं । तपाईहरु लकडाउनमै बस्नुहोला । र, जहाँ बसिरहनुभएको छ, यसको विषयमा जानकारी र सचेतना गरिदिनुहोला भनेका छौं । अहिले समग्र देश नै एक छ । एक हुनुपर्छ । तर, केही कसैले यो मौकामा सरकारमाथि अलिकति प्रहार गर्न पाईए ठीकै हुन्थ्यो कि भनेर खोजिरहेको पनि होला, तर यो गलत एजेण्डामा खोज्नुभाको जस्तो मलाई लाग्छ । अहिले प्रधानमन्त्रीले भनेजस्तै पहिले यो समस्याको समाधान गरौं, त्यसपछि आफ्नो राजनीति र हाम्रो वादविवाद छँदैछ नि । पछि सबैजना कम्मर कसेर लागौंला नि । मूल रुपमा अहिले जनतालाई कोरोना भाइरसको महामारीबाट जोगाऔं । देशलाई जोगाऔं । अहिले भनेको हाम्रो प्रयत्न यही हो ।”

वर्तमान सरकारले काम गर्न नसकेको र चुक्यो भनेर प्रतिपक्षी दल र यसका सभापति शेरबहादुर देउवाले पनि बेला बेलामा विज्ञप्ती निकालेर विरोध गर्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा मन्त्री त्रिपाठीले भने,”कतिपय साथीहरु अहिले लकडाउनमा हुनुहुन्छ । यो बेलामा उहाँहरुले लकअफमै बसेको हुँ कि भन्नेपनि पर्यो होला । आफ्नो उपस्थिति जनाउनको लागि बेला बेलामा म पनि छु है यो संसारमा भनेर यस्ता कुरा भनेको होला, तर मूल रुपमा सरकारले विभिन्न पार्टीका नेतृत्सँग एक ढंगले निरन्तर सम्वाद गरिनैरहेको छ । मूलभूत निर्णयमा सम्वाद गरिरहेको छ ।

यस्तो बेलामा भ्रष्टाचार र कमिशनको कुरा आउनु उचित हुन्छ ? त भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा उनले प्रष्ट्याए-“आउनु उचित त हुँदैन् । यो आफ्नाृ ठाउँमा छ। तर, आईहाल्यो मानौं । त्यसको पनि नियमित प्रक्रिया छ । अब कसैलाई पहिला त छानबिन हुनुपर्यो, ठहर हुनुपर्यो । कतिपय खर्च नै नगरिकन अख्तियारको दुरुपयोग भनेर भन्नेहरुसँग मलाई नै उनीहरु देखेर माया लाग्छ । विचरा अलिक नबुझेर पनि होलाजस्तो लाग्छ, कम्तिमा रकम खर्च भएपछिमात्रै अख्तियारको दुरुपयोग भएको छ भनेको भए, यो त सामान्य कुरा हो । म त जीवनभर सार्वजनिक लेखा समितिमा बसेर काम गरेको व्यक्ति हुँ । अर्थतन्त्र र आर्थिक पारदर्शीताका कुरा बुझेको मान्छे भएको हुनाले मैले यो भनेको हुँ । तर, हामीकहाँ के छ भने यो हुन लागेको, यो सम्भावित यस्तो भनेर भन्ने चलन छ । त्यस्ता भविष्यवक्ताहरुले अब कोरोनाको विषयमा पनि अलिकति जानकारी गराईदिए सजिलो हुन्थ्यो । मैले हेर्दाखेरि सरकारले त्यस्ता कुरा र विषयहरुमा धेरै विचलित हुने काम नै छैन् । हामी हाम्रो कर्तव्य जे छ, त्यो पालना गरिरहेका छौं । जसले भनिरहेको छ, उहाँहरुलाई पनि कोरोनाबाट बचाउने जिम्मा हाम्रो हो । जसले आरोप लगाईरहेको छ, या आरोप लगाउन खोजिरहेको छ । उहाँहरुलाईपनि कोरोना नलागोस भनेर पहिला हाम्रो जिम्मेवारी हो ।”



प्रतिक्रिया दिनुहोस्