Logo

भाइरसबाट अमेरिकामा एकै दिन एक हजार ९०० सयको मृत्यु



२६ चैत।विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८५७ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कूल ४ लाख मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या चार हजार नाघिसकेको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले सामाजिक दूरी कायम नराखिए अझ बढी मानिस संक्रमित हुने र मृतकको संख्या पनि बढ्न सक्ने चेतावनी दिए ।

कोरोना संक्रमणबाट हालसम्म विश्वभर १४ लाख ३५ हजार मानिस संक्रमित भएका छन् भने ८२ हजार १९१ जनाको मृत्यु भइसकेको छ ।

यद्यपी कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ ।

हालसम्म पहिलो स्थानमा रहेको इटालीमा कूल १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ३६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

कूल एक लाख ४२ हजार कोरोना संक्रमित भएको स्पेनमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । स्पेनका अधिकारीहरुले मंगलबार ७४३ जनाको मृत्यु भएको देखिए पनि मृतकको संख्या घट्न थालेको बताएका छन् ।

फ्रान्समा भने एक लाख ९ हजार संक्रमित भएकामध्ये १० हजार ३२८ जनाको ज्यान गएको छ । फ्रान्सेली स्वास्थ्य निर्देशक जेरोम सोलोमोनले फ्रान्समा मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै मृतकको संख्या अझै उच्च विन्दुमा पुगिनसकेको बताए ।

बेलायतमा ६ हजार १५९ जनाको मृत्यु भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत ५५ हजारभन्दा बढी बेलायती नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ ।

उता इरानमा मृतकको संख्या ३ हजार ८७२ पुगेको छ भने चीनमा ३ हजार ३३३, नेदरल्यान्ड्समा २ हजार १०१, बेल्जियममा २ हजार ३५, जर्मनीमा २ हजार १६, स्वीट्जरल्यान्डमा ८२४, टर्कीमा ७२५ तथा ब्राजिलमा ६८८ जनाको ज्यान गएको छ । चीनले काेराेनाभाइरस उत्पत्तिकाे केन्द्र मानिएकाे हुबे प्रान्तकाे उहान शहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएकाे छ ।

करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ३६० पुगेको र १६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कूल संक्रमित ४ हजार रहेकामा ५८ जनाको मृत्यु भएको, बंगलादेशमा १६४ जना संक्रमित पाइएकामा १७ जनाको मृत्यु भएको र श्रीलंकामा १८६ जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्