Logo

ठीक ढंगले काम गरेन भने सरकारबारे पार्टी स्वयमले पनि विचार गर्नुपर्ने अवस्था आउँछ : झलनाथ खनाल (भिडियोसहित)



काठमाडौं, २६ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरुले पार्टीको सचिवालय बैठकमा देश र जनताको हितमा काम गर्न सरकारलाई निर्देशन दिएको स्पष्ट पारेका छन् । बुधबार अपरान्ह प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको कोरोनाको महामारी ः प्राइमको खबरदारी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

हिजो बसेको सचिवालय बैठकमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएकोबारे कुरा भयो कि भएन भन्नेबारे खनालले यस्तो सुनाए,”हामीले उहाँले के भन्नुभयो, के भन्नुभएन ? भन्नुपर्दापनि उहाँले हेर्दैछु भन्नुभयो । अध्ययन गर्दैछु भन्नुभयो । नेकपा सबै प्रकारका भ्रष्टाचारविरुद्ध लड्दै आएको पार्टी हो । हामी सहन गर्न सक्दैनौं । गम्भिरतापूर्वक हेर्न आग्रह गरेका छौं । केही पनि भएको छैन भनेर भन्न सक्नुभएन । कतिपय कुरा मलाई पनि थाहा छैन् । सम्बन्धित मन्त्रीलाई पनि थाहा छैन भन्नुभयो । प्रधानमन्त्री ओलीले म अध्ययन गर्छु र अनियमितता भएको छ भने कारबाहीको विषय बनाउँछु भन्नुभयो । सरकारसँग दुई तिहाई बहुमत छ । आम जनताको समर्थन छ । हामी सबै नेताले समर्थन गरेका छौं । सरकारले यो बेलामा राम्रो ढंगले काम गर्नुपर्छ । काम भएन भने पार्टी स्वयमले पनि विचार गर्नुपर्ने अवस्था आउँछ । पार्टीको ईच्छा र आकांक्षा बुझेर काम गनुपर्छ । प्रधानमन्त्रीले यसको अगुवाई गर्नुपर्छ ।”

उनले विश्व नै कोरोको कहरमा परेको सुनाउँदै नेपाल सरकारले पनि आफ्नो काम प्रभावकारी रुपम अघि बढाउनुपर्ने सुझाए । उनले भने,”अहिले सिंगो राष्टको हितमा, जनताको हितमा, राष्टलाई अगाडि बढाउने, महामारीबाट यो राष्टलाई बचाउने काममा यो सरकारले महत्व्पूर्ण र प्रभावकारी भूकिामा खेल्न सक्नुपर्छ । हामीले पनि त्यही कुरा भनेका छौं । यसको लागि सरकारल राम्रो तयारी गर्न सकोस् । स्वास्थ्य सामग्री पारदर्शी ढंगले राम्रोसँग मगाईयोस । अहिलेपनि आवश्यक मात्रामा कोरोनाको परीक्षण भएको छैन् । सरकारले काम गर्न सकेन भने पार्टीले गम्भिर रुपमा सोच्छ नि ।”

तर, अहिले हाईपोथेसिसको आधारमा सरकारको विकल्प खोजिहाल्ने अवस्था नभएको पनि खनालको स्पष्टोक्ति छ । उनले भने,”अहिले त्यहाँसम्म पुग्ने अवस्था आईहालेको छैन् । तर, हामीले प्रधानमन्त्रीलाई पटक पटक भनिरहेका छौं कि बैठकहरु चाँडोभन्दा चाँडो गर्नुपर्छ भनेर माग गरेका हौं । मैले पनि माग गरेको हो । त्यसो भएको हुनाले बैठक भयो । राम्रो कुरा भयो । बैठकमा हामीले कमसेकम छलफल गर्ने मौका पायौं । प्रधानमन्त्रीलाई भन्ने र सुझाव दिने मौका पायौं । त्यसले सरकारलाई अझ बलियो भएर प्रभावकारी रुपमा अघि बढ्न मद्दत पुग्नेछ । अझ लोकप्रिय ढंगले देश र जनताको हितमा काम गर्न बल पुगिरहेको छ । यो बललाई प्रधानमन्त्रीले सदूपयोग गर्न सक्नुपर्छ । यो उहाँको कर्तव्य हो । त्यो कुरा त हामीले भविष्यमा उहाँको काम हेरेर मात्रै भन्न सक्छौं ।”

आफूहरुले स्वास्थ्य सामग्रीहरु चाँडोभन्दा चाँडो ल्याईयोस भनेर पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको खनालले सुनाए । उनले भने,”हामीले स्वास्थ्य सामग्री चाँडो मगाईयोस भनेर प्रमलाई भनेका छौं । अझ प्रभावकारी रुपमा उपचार गर्न सकिने अवस्थामा सरकार लाग्नुपर्छ भनेका छौं । जनताको स्वास्थ्य सुरक्षा कायम गर्न सरकार सफल हुनुपर्छ । यो गर्न सकेमात्रै सरकारको औचित्य सावित हुन्छ । सरकारले राम्रा काम गर्नैपर्छ । सफल हुनैपर्छ । सिंगो पार्टीले साथ दिएको छ ।प्रतिपक्षले साथ दिएको छ । कुनैपनि मन्त्रीले अन्यथा ढंगले सोच्छन् भने अत्यन्तै गलत हुन्छ । हामी यो सरकारलाई सहयोग पनि गरिरहेका छौं । संगै, चेतावनी पनि दिईरहेका छौं ।”

मन्त्रीहरुले पार्टीको स्पिरिट अनुसार काम गर्न सकेनन र पार्टीको निर्देशनअनुसार सरकार चलेन भने पार्टीले सोच्नुपर्ने हुन्छ भन्दै खनालले कडा चेतावनी दिए । उनले थपे,”योभन्दा अघि पनि कतिपय मन्त्रीहरु तलमाथि भैसकेको तपाईहरुले देखिसक्नुभएको छ । पार्टीको हितमा काम गर्नुपर्यो । देशको हितमा काम गर्नुपर्छ । कोरोनाविरुद्ध लड्न सरकारले चालेको कदम राम्रै रहेको पनि उनले स्पष्ट पारे । विश्वभरि नै कोरोनाविरुद्ध लड्ने मुख्य हतियार भनेको नै लकडाउन भएकोले नेपालले पनि त्यही कदम चालेको उनको भनाई छ । उनले भने,”वर्तमान सरकार सफल भएको छ । औषधी, उपकरणहरु परिचालन गर्ने कुरामा सरकार प्रभावकारी हुनुपर्छ । जनतालाई पर्ने अपठ्यारामा सरकार त्यतिकै प्रभावकारी रुपमा अघि बढ्नुपर्छ ।”

उनले सरकारले आगामी २०७७ साल बैशाख ३ गतेसम्म कायम गरेको लकडाउन अझै बढ्न सक्नेपनि टिप्पणी गरे । उनले भने,”लकडाउन नै कोरोनाविरुद्धको ठूलो औषधी हो । अहिले पनि कोरोनाको जोखिम र खतरा मडारिरहेको छ । भारतमा कस्तो अवस्था सिर्जना हुन्छ , भारतमा पनि अझै लकडाउन लम्बियो भने नेपालले पनि अटोमेटिक लम्ब्याउनुपर्छ ।”

उनले विश्वका जुनसुकै देशमा रहेका नेपालीहरुलाई अहिलेको अवस्थालाई हेरेर जो जहाँ छन् त्यही बस्नसमेत आग्रह गरे । उनले भने,”तपाई बसेका ती देशहरु लकडाउनमा छन् । यो आदेशलाई अनुशरण गर्दै आफूलाई रक्षा गर्नुको विकल्प छैन् । भारतमा रहेका नेपालीहरु नेपाल आउन चाहन्छन् । उनीहरु आउने अवस्था छैन् । अलपत्र नपरुन भनेर नेपाल सरकारले भारत सरकारसँग कुराकानी गरिरहेको छ । युएई, साउदी अरबिया, कुवेतसँग प्रधानमन्त्रीले कुराकानी गर्नुभएको छ । अष्ट्रेलिया अप्ठ्यारो पर्यो भन्ने कुरा आएको छ । परराष्ट्रमन्त्रीले कुरा गर्नुभएको छ।”



प्रतिक्रिया दिनुहोस्