Logo

विधेयक अधिवेशनभर चार विधेयक मात्र पारित



काठमाडौँ, २७ चैत । संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणको अधिवेशनका रूपमा लिइन्छ तर विधेयक अधिवेशनमै यो पटक कानुन तर्जुमाको अवस्थामा भने निकै फितलो रह्यो । चालू अधिवेशन अन्त्य गरिएको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि चैत ७ गते यता कुनै पनि सदन चलेका थिएनन् । यद्यपि गत वर्षभन्दा ढिला गरेर नै अधिवेशन अन्त्य गरिएको छ । संसदीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार दुवै सदनबाट पारित भई प्रमाणीकरण योग्य रहेका चार विधेयक छन् । जसमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन र प्रमाण (दोस्रो संशोधन) विधेयक छन् ।

कुल ९२ दिन चलेको पाँचौँ अधिवेशनमा एक गैरसरकारीसमेत १७ विधेयक दर्ता भए । जसमा प्रतिनिधि सभामा छवटा र राष्ट्रिय सभामा ११ विधेयक दर्ता भएका हुन् । दर्ता भएकामध्ये प्रतिनिधि सभाबाट आठ र राष्ट्रिय सभाबाट नौ विधेयक पारित भएका छन् । हाल सङ्घीय संसद्मा ३८ विधेयक विचाराधीन रहेको सचिवालयको तथ्याङ्क छ । जसमा प्रतिनिधि सभाको समितिमा दफावार छलफलका क्रममा १३ र राष्ट्रिय सभाको समितिमा छवटा विधेयक छन् । विभिन्न चरणमा प्रतिनिधि सभामा २६ र राष्ट्रिय सभामा १२ विधेयक छन् ।

एक सदनबाट पारित भई अर्को सदनमा सन्देश टेबल गर्न बाँकी विधेयक चारवटा छन् । जसमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा समान दुई÷दुई विधेयक छन् । पाँचौँ अधिवेशनमा प्रतिनिधि सभाले दुई सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको छ । राष्ट्रिय सभाले एक सङ्कल्प र एक ध्यानाकर्षण प्रस्तावमा छलफल गरेको छ । सङ्घीय संसद्मा १०९ प्रश्न दर्ता भए पनि दुई विभागीय मन्त्रीसँग मात्र प्रश्नोत्तर भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित पाँच प्रश्नमा मात्र विभागीय मन्त्रीले सदनमा जवाफ दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्