Logo

तीनसातामा बेलायतमा तीन पूर्व गोर्खासहित ५ नेपालीको मृत्यु



बेलायत, २७ चैत । बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ ।

विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएको बेलायतबाट प्रकाशित हुने नेपाली लिंकले जनाएको छ । सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आइसोलेसनमा बसेका थिए ।

आज बिहान ३ बजेतिर अलिक गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल गएका उनलाई साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए । आजै लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना बृद्धको मृत्यु भएको छ । उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

हिजो मंगलबारमात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । उनको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् । ५९ वर्षीय गुरुङ पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्लीमा श्रीमती गंगादेवीसंग बस्दै आएका थिए । निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति सेल्फ आइसोलेसनमा घरमा बसेका उनी गत १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल गएका थिए । उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

यसअगाडि बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अर्यालको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी झण्डै ३ साता अगाडि नेपालबाट बेलायत आएका थिए । नेपालबाट बेलायत आएको केहीदिनमा नै उनमा ज्वरो र खोकी लगायतका लक्षण देखा परेका थिए । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

बेलायतमा कोरोना संक्रमणबाट पहिलो नेपालीको मृत्यु भने मार्चको तेश्रो साता भएको हो । पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको थियो । (खसोखास डटकमबाट)



प्रतिक्रिया दिनुहोस्