Logo

कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा



काठमाडौँ, २७ चैत । कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।

ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा सङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

“त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रोग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, सङ्क्रमित महिलाकी जेठानीले भन्नुभयो, “विदेशवाट आइपुगेका देवर (सङ्क्रमित युवक)लाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ ।

सङ्क्रमित युवक उनकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको सङ्क्रमण नहुन पनि सक्ने बताएका छन् । “सङ्क्रमित युवकलाई सङ्क्रमित महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको सङ्क्रमण भएको हुनसक्छ”, उनले भने ।

सङ्क्रमित चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले सङ्क्रमितलाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । “आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उनीहरुको स्वास्थ्य जाँच गरिरहेका छौँ”, डा कमरले भने, “चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

सङ्क्रमित व्यक्तिबाट स्थानीयवासीमा सङ्क्रमण भएको यो घटनापछि सरकारको निर्णयअनुसार यतिबेला सङ्क्रमित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ । काठमाडौँबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएका र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताएका छन् । र्यापिड डाइग्नोटिस्क टेस्ट(आरडिटी)का लागि काठमाडौँबाट खटिएको छ सदस्यीय टोली सोमबार धनगढी पुगेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्