Logo

रोटरी क्लबद्वारा ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गरिने



काठमाडौँ, २७ चैत : रोटरी क्लबले कोरोना भाइरस (कोभिड— १९) को उपचारका लागि ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ ।

रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२ तथा रोटरी क्लब अफ जावलाखेलको आयोजनामा कोरोना रोटरी सेन्टरमार्फत ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्न लागेको हो । विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर तत्काल दुई शय्या र बाँकी क्रमशः विस्तार गर्दै लैजाने रोटरी इन्टरनेशनलका पूर्व डिस्टिक गभर्नर जया राज्यलक्ष्मी शाहले जानकारी दिए ।

उनले भने, “तीव्र गतिमा फैलियो भने विस्तारै शय्या थप गर्दै लैजान्छौँ ।” कोरोना उपचारका लागि रोटरी इन्टरनेशलनले विभिन्न अस्पतालमा स्वास्थ्य सामग्रीसमेत प्रदान गर्दै आइरहेको उनको भनाइ छ ।

यसैबीच, रोटरी इन्टरनेशनलले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी दिन नेपाल नेशनल अस्पताल कलङ्कीमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ । रोटरी इन्टरनेशनलले कोरोनाबारे कुनैपनि परामर्श लिनुपरेमा अब निःशुल्क हटलाइन ११४७ नम्वरमा फोन गर्न सबैमा आग्रह गरेको छ ।

रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तरराष्ट्रिय सामाजिक संस्था हो । सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको क्लबको सन् १९५० मा नेपाल शाखा स्थापना भएको हो । रोटरी इन्टरनेशनलले प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, युवा शान्तिलगायतका क्षेत्रमा काम गर्दै आएको छ । रोटरी इन्टरनेशनलले विस २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ८० विद्यालय भवनसमेत पुनर्निर्माण गरिसकेको छ । यस्तै, थापाथली, धुलिखेललगायत नेपालका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिक केन्द्रसमेत स्थापना गरेको छ । वातावरणको क्षेत्रमा समेत काम गर्ने लक्ष्य बोकेको रोटरीका हाल देशभर १२३ शाखा छन् ।



प्रतिक्रिया दिनुहोस्