Logo

सांसद चौधरीद्धारा महोत्तरीका १ सय ७० विपन्न परिवारलाई खाद्यान्न वितरण (फोटोफिचर)



तीन अस्पताललाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण

महोत्तरी, २७ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेकी छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई राहत र स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद चौधरीले मटिहानी नगरपालिको मझौराविसनपुर र जलेश्वर नगरपालिका खैराका १ सय ७० विपन्न दलित र मजदुरलाई निजी स्रोतबाट राहत र स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर साँसद चौधरीले बुधवार राहत वितरण गरेकी छन् । पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का १ सय परिवार मुसहर र चमार तथा जलेश्वर नगरपालिकाको वडा नम्बर ३ का ७० मुसहर घरपरिवारलाई राहत वितरण गरेको जानकारी दिईन् ।

रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार साँसद चौधरीले व्यक्तिगत कोषबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी हुन् । उनले प्रति परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो चिऊरा, २ किलो आलु, २ किलो प्याज, १ लिटर खानेतेल र १ किलो नुन वितरण गरेकी हुन् । खाद्यान्नका साथै सांसद चौधरीले उनीहरुलाई साबुन र माक्स समेत वितरण गरेकी थिइन् । सांसद चौधरी समाजसेवमा समेत निकै सक्रिय छिन् । उनले विपतमा परेकाहरुको लागि जहिल्यैपनि साथ दिँदै आएकी छिन् ।

लकडाउनको अवधिमै उनले यसअघि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेका पशुपन्छीको लागिपनि आहारको व्यवस्था गरेकी थिईन् । घरमै खाना तयार पारेर उनले मन्दिर परिसरमा रहेका गाई, बाँदर, परेवाहरुलाई खाना तथा दाना खुवाएकी थिईन् ।

त्यस्तै, उनले चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउण्डेशनले पठाएका स्वास्थ्य सामग्रीसमेत रौतहट, सर्लाही र महोत्तरीका अस्पताललाई हस्तान्तरण गरेकी थिईन् । उनले भनिन्, चौधरी फाउण्डेशनले पठाएका स्वास्थ्य सामग्री मैले हस्तान्तरण गरिदिएकी हुँ । मैले रौतहटको गौर अस्पताल, सर्लाहीको मलंगवा अस्पताल र महोत्तरीको जलेश्वर अस्पताललाई ती सामग्री हस्तान्तरण गरेकी हुँ । फाउण्डेशनले पठाएका सामग्रीमा पीपीई, मास्क र सेनिटाईजर रहेका छन् ।

हेरौं तस्विर :

 



प्रतिक्रिया दिनुहोस्