Logo

भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा



२७ चैत । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् ।

कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पु–याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्याँकमा निर्भर रहेका छन् ।

मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन ।

सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ ।

अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताए ।

यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ । चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो ।

यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ । कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ ।

तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् ।

त्यो अनुमान हो । तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च–दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ ।

टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्छन, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।”

डा फानले भने, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ ।

तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ ।

न्यूयोर्क शहरमा केही हप्ताअघि निकै बिरामी परेका कोरोनाभाइरसका बिरामीहरूलाई नियमित रूपमा सास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राखिएको थियो, म्यानहट्टन अस्पतालमा काम गर्ने आपतकालीन चिकित्सक डा जोसेफ हब्बुसेले बताए ।

तर धेरैजसो अवस्थामा फिजिसियन चिकित्सकहरूले अन्य उपायहरू अपनाउन खोजेको पाइएको छ । तीमध्ये एउटा हो, बिरामीलाई विभिन्न तरिकामा राख्नु वा सुताउनु । अर्को तरिका हो, नाकबाट ट्युब वा अन्य उपकरण घुसाएर बिरामीहरूलाई स्वाभाविक रुपमा बढी अक्सिजन दिनु । केही डाक्टरहरूले फोक्सोको कम क्षतिग्रस्त भागहरूमा रक्त प्रवाह र अक्सिजन पु–याउन नाइट्रिक अक्साइड प्रयोग गरिरहेका छन् ।

“यदि हामीले उनीहरूलाई यिनै विधिबाट आराम दिलाउन सक्यौं भने यसको नतिजा पनि राम्रो हुनेछ,” ह्याबाउसले बताए ।

भान्डर्बिल्ट विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा विलियम श्याफ्नरले भने, “कोरोनाभाइरसका बिरामीहरूलाई अन्य प्रकारका बिरामीहरूको तुलनामा लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्छ भन्ने भनाई छ ।”

विज्ञहरू भन्छन्– ब्याक्टेरियल निमोनियाका बिरामीहरूलाई, उदाहरणका लागि, पनि भेन्टिलेटरमा एक वा दुई दिन भन्दा बढी राख्नु हुँदैन । तर कोरोनाभाइरसका बिरामीलाई भेन्टिलेटरमा “सात दिन, १० दिन, १५ दिन” राखिएको छ र उनीहरुकै मृत्यु भइरहेको छ,” न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमोले बुधबार आयोजित ब्रिफिङका क्रममा बताए।

भेन्टिलेटरहरू छोटो समयमा आपूर्ति हुन निकै कठिन हुन्छ । विज्ञहरूले कोरोना पीडितको संख्या बढ्दै जाँदा चिकित्सकमाथि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्नेमा द्विविधा उत्पन्न हुने बताउँछन् ।

न्यूयोर्क राज्य स्वास्थ्य आयुक्त डा होवार्ड जुकरले बुधबार अधिकारीहरूले उपचारका लागि भर्ना हुने हरेक बिरामीका लागि अन्य सम्भाव्य उपचार विधिका बारेमा खोज गरिरहेको बताए । तर उनले थपे, “यो सबै प्रयोगात्मक नै हुनेछ ।”

“भेन्टिलेटर उपचारात्मक होइन । बिरामीको शरीरको पुनः सुधार हुँदासम्मका लागि यो सहयोगी उपाय मात्र हो,” फ्लोरिडाको मियामी स्वास्थ्य प्रणाली विश्वविद्यालयका फोक्सो विशेषज्ञ डा रोजर अल्भारेजले बताए । नाइट्रिक अक्साइडको प्रयोग गरेर बिरामीलाई सकेसम्म कम भेन्टिलेटरमा राख्न सकिने पद्धतिका बारेमा उहाँले निकै सफलता हासिल गरेका छन् ।

ज्याचारी शेमटोबले आफ्ना ४५ वर्षीय श्रीमानलाई कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफूलाई निकै डर लागेको बताए । “भेन्टिलेटरमा राख्नु भनेको कहिल्यै पनि भेन्टिलेटर हटाउनु होइन भन्ने मलाई लागिरहन्छ ।”



प्रतिक्रिया दिनुहोस्