Logo

नेपालमा कोरोना संक्रमित धमाधम डिस्चार्जको तयारीमा



काठमाडौं, २७ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठजना उपचाररत छन् । दुईजना काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छन् । बाँकी छ जना उपत्यकाबाहिर उपचाररत छन् । उपचाररतमध्ये केही संक्रमणमुक्त भइसकेको बुझिएको छ । पछिल्लो टेष्टहरु नेगेटिभ आइरहेकाले चिकित्सकको परामर्शमा केही दिनमै डिस्चार्ज गर्ने तयारी भएको छ ।

टेकुमा उपचाररत किशोरी र युवक दुवैजना केही दिनमै डिस्चार्ज हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार दुवैजना स्वस्थ भइसकेका छन् । दोस्रो संक्रमित अस्पताल बसेको दुई हप्ताभन्दा बढी भइसकेको छ । तेस्रो संक्रमित पनि अस्पताल बसेको दुई हप्ता भइसकेको छ ।

संक्रमितमध्ये तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् । यसै हप्ता कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको उपत्यकाबाहिरै उपचार भइरहेको छ । संक्रमितको दमको पनि समस्या भएको बुझिएको छ । उनी पनि सामान्य अवस्थामा रहेको बुझिएको छ ।

कोरोना भाइरसबाट नेपालमा पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराएर डिस्चार्जको पर्खाईमा छिन् ।

तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो । उनी पनि डिस्चार्जको पर्खाइमा छन् ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनी पनि सामान्य अवस्थामा छन् ।

पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो । उनी बाग्लुङकी हुन् । उनी पनि सामान्य अवस्थामा छिन् ।

छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो । उनी पनि बाग्लुङकै हुन् । उनी पनि सामान्य अवस्थामा छिन् ।

सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ । उनी सेती अस्पतालमा उपचाररत छन् ।

आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन् । उनी पनि सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।

नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ । उनी पनि सेती अस्पतालमा उपचाररत छन् ।

संक्रमितहरुको विवरण
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्