Logo

समाचारले भ्रम सृजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको आरोप



चैत २७, काठमाण्डौ । आज दिउँसो ३ बजेपछि अधिकांश मिडियाले प्रकाशन गरेको समाचार : ´सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।´

यो समाचारले काठमाण्डौमा अलपत्र परेकाहरु घर जान पाउने भइयो भनेर उत्साहित भए । तर उक्त निर्णय नै नभएको समाचार ६ नबज्दै आयो । समाचार प्रकाशित गर्ने मिडियाले उक्त जानकारीको स्रोत उल्लेख गरेका थिएनन् । निर्णय नभएको समाचारमा भने मन्त्रीहरुलाई नै स्रोतको रुपमा उल्लेख गरिएको छ ।

यसले आज किरब २ घण्टा तरङ्ग सृजना गर्यो । अहिले प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले लक डाउन कायम रहेको भन्दै उपत्यकाबाहिर जान पाउने समाचार गलत भएको भन्दै भ्रममा नपर्न सुझाब दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन् : लकडाउन भनेकाे लकडाउन नै हाे । भाेलि र पर्सि उपत्यका बाहिर जान पाइने भन्ने हाेइन । “समाचार”काे भ्रममा नपर्नुहाेला ।

उनको स्टाटसको आशय समाचार प्रकाशन गर्ने संचारमाध्यमले भ्रममा पार्न खोजेको भन्ने बुझिन्छ ।

तर कतिपय संचारमाध्यमले दुई दिन घर फर्किन दिने निर्णयबारे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकिय सचिवले जानकारी दिएको उल्लेख गरेका थिए ।

जे भए पनि वा जसको गल्ति भए पनि आज गलत समाचारले भ्रम सृजना गरेको भने अस्वीकार गर्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्