Logo

यातायातमन्त्री नेम्बाङको दाबी : काठमाडौं उपत्यकाबाहिर जान दिने निर्णय भएकै छैन् (भिडियोसहित)



काठमाडौं, २७ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जाने दिने निर्णय नगरेको स्पष्ट पारेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट आज राति ८ः०० बजे प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री नेम्बाङले यस्तो बताएका हुन् । उनले भने,”म मन्त्रिपरिषदको एक सदस्य हुँ । माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा पनि म सदस्य छु । त्यहाँपनि निर्णय भएको छैन् । तपाईमार्फत म के भन्न चाहन्छु भने सरकारले ठ्याक्कै यो निर्णय गरेको छैन् ।”

तर, प्रदेश सरकारले विरोध जनाएपछि र चौतर्फी आलोचना भएपछि दुई घण्टा नबित्दै सरकार आफ्नो निर्णयबाट ब्याक भएको हो भनेरपनि भनिएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने-“मलाई त्यस्तो लाग्दैन् । कसैले दबाब दिँदैमा पछि हट्ने वा कसैले केही भन्दैमा पछि हट्ने होईन् । यो त कोभिडविरुद्ध लकडाउन गरेर जाने सरकारको निर्णयलाई सबै प्रदेशले आ आफ्नो, र स्थानीय तहका सरकारहरुले पनि आ आफ्नो ठाउँमा एकदम सक्रिय कार्यान्वयन गरिरहनुभएको छ । यी सबै कुराहरुलाई संघीय सरकारले माथिबाट राम्ररी ध्यान दिएर हेरिरहेको छ । समन्वय गरिरहेको अवस्था छ । कसैको दबाबमा पछि हट्नुपर्ने पनि होईन् । सरकारले निर्णय नै गरेको छैन अनि कसरी पछाडि हट्नु ?”

उनले काठमाडौं उपत्यकाबाहिर जानको लागि सरकारले दिने भनेर कुनै निर्णय नै नगरेको जिकिर गरे । उनले भने,”अहिलेको अवस्थामा दैनदैनिको अवस्थाको मुल्यांकन गर्ने र निर्णय कार्यान्वयनको प्रभावकारीताबारे उच्चस्तरीय समन्वय समितिको संयोजकले समिक्षा गरिरहनुभएको छ । अहिले लकडाउन छ । यो प्रिय होईन् । धेरै मान्छेहरु काठमाडौंमै थुप्रिरहेका छन् । पछिल्लो समय उपत्यकाको अवस्था के छ ? राहत वितरणबारे डाटा राख्न निर्देशन दिने कुरा लगायतका छलफल त सामान्य कुरा हुन् नि ।”

अहिलेपनि काठमाडौंमा हजारौं मानिसहरु गाउँ जान चाहनेहरुपनि छन् नि,”उनीहरुलाई आफ्नो गन्तव्य पुर्याउनेबारे सरकारले केही गुरुयोजना ल्याउन सक्छ त ? भनेर धमलाले राखेको अर्को प्रश्नमा उनले भने, देशभरिका मजदुरहरुलाई उचित व्यवस्थापन गर्न जरुरी छ । अहिलेको लकडाउनको निर्णयबाट दैनिक रोजिरोटीमा पनि समस्या परेको छ, उनीहरुको पिर मर्का सरकारले बुझेको छ । उनीहरुको गाँस र बासको समस्याको समाधान गर्ने, पर्यो भने क्वारेन्टिनमा कसरी व्यवस्थापन गर्ने ? यी सबै काममा सरकारले दैनदैनिक ध्यान दिईरहेको अवस्था छ त । काठमाडौं उपत्यकाभित्र पनि छ, बाहिरका ठूला ठूला आयोजनामा पनि ध्यान दिएको छ । तत् सम्बन्धमा मन्त्रिपरिषदले र उच्चस्तरीय समन्वय समितिले एउटा नीति नै निर्धारण गरेको छ । हामी दिनैपिच्छे तिनलाई कार्यान्वयन गर्न यसरी लागिरहेका छौं । यही लाग्ने क्रममा यी कुराहरु आएका छन् ।”

आजको चार जना मन्त्रीहरुबीचको छलफलमा काठमाडौंबाट आफ्नो घर फर्किन चाहनेहरुको लागि जान दिनेबारे प्रस्ताव पनि नआएको र छलफल पनि नभएको उनको दाबी छ । उनले भने,”यो उच्चस्तरीय समन्वय समितिको बैठकपनि होईन्, चासो राख्नुभयो । जनताको अहिलेको अवस्था के छ भनेर ? सबैले चासो राख्नुभएको छ । यो त स्वभाविक कुरा हो । कोरोनाविरुद्धको सरकारको अभियान र कदमबारे सबैले चासो राखेका छन् ।”

कोरोनाबाट बच्नको लागि सबैभन्दा ठूलो औषधी भनेको लकडाउन भएकोले आम नागरिक यो अवधिमा घरघरमै बस्नुपर्ने पनि उनले आग्रह गरे । उनले भने,”सबै नागरिक घरघरमै बसौं । योभन्दा अर्को औषधि छैन हामीले अवलम्बन गरिरहेका छौं । यो राम्रो पनि देखिएको छ । अहिलेसम्म लकडाउन सफल भएको छ । जनताले समर्थन गर्नुभएको छ । जनताले राज्यले लिएको नीतिमा आम जनताले राम्रो साथ र सहयोग गर्नुभएको छ । अब यो सहयोग गर्नेमा दार्चुलाका मजदुरीहरु पनि यहाँ बस्नुभएको होला, ताप्लेजुंगका मजदुहरु पनि यहाँ हुनुहुन्छ । रोल्पाका मात्रै चार, पाँच हजार यहाँ छन् । उनीहरुले भोलि लाने, वा पर्सि लाने निर्णय भएको छैन् । मलाई त थाहै छैन् ।”

यद्धपी सरकारले जनताको अवस्थालाई नजिकबाट हेरिरहेको पनि उनले सुनाए । खाद्यान्नको व्यवस्था, समयमै उपचार गराउनेलगायतका काममा सरकारले ध्यान दिईरहेको छ । उनले भने,”सरकारको दायित्व अप्ठ्यारो अवस्थाका जनतालाई हेर्ने हो । जनतालाई यहीँ बसौं है भनेर आह्वान गर्दापनि जनता हिँड्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रको उनीहरुको अवस्था कस्तो छ ? भनेर खोजखबर गर्नु सरकारको दायित्य हो नि ।” बैशाख ३ गतेसम्म लकडाउन कायम रहेकोले कोही पनि आवातजावात गर्न नमिल्ने पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्