Logo

किन चीनतर्फ ढल्केको भन्दै ट्रम्पले डब्लुएचओमाथि उठाए प्रश्न



एजेन्सी, २७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीन केन्द्रित भनी आरोप लगाएपछि कोरोनासँग लडिरहेको विश्वमा नयाँ राजनीतिक तरंग आएको छ । ट्रम्पले डब्लुएचओको भूमिका विवादास्पद भएको भन्दै आलोचना समेत गरेका छन् ।

डब्लुएचओले कोरोना भाइरससँग लड्न लिएको एकपछि अर्को कदम गलत रहेको तर्क गरे । डब्लुएचओलाई सदस्यतावापत् दिनुपर्ने रकम नै स्थगित गर्ने सम्मको चेतावनी दिए । डब्लुएचओका महानिर्देशक टेड्रोज अडहानोम घेब्रिससमाथि पनि असन्तुष्टि पोखे ।

यसअघि घेब्रिसले ट्रम्पबाट महामारीलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए । उनले यसमा राजनीति नगर्न भनिरहँदा ट्रम्पले उल्टै डब्लुएचओको त्रुटी औल्याए । चीनप्रति ढल्किएको आरोप लगाए ।

घेब्रिसले अमेरिकाले कोरोना भाइरसको महामारीका बाबजुद शुरुमा सीमा खोलोस् भन्ने चाहेको बताए । तर, विश्व स्वास्थ्य संगठनको निर्णय विपरित कठोर निर्णय गर्दै सीमा बन्द गरिएको सुनाए ।

चीनले डब्लुएचओलाई ४ करोड डलर अनुदान सहयोग दिने गरेको र अमेरिकाले ४० करोड डलरभन्दा बढी दिने गरेको समेत ट्रम्पले सुनाए । उनले भने, तैपनि डब्लुएचओ चीनको बाटोमा गएको देखिन्छ । यो ठिक र विश्वप्रति निष्पक्ष भूमिका होइन ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्