Logo

भैरहवा विमानस्थलको काम जारी कामदारलाई सुरक्षित राखेर सञ्चालन



काठमाडौँ, २८ चैत । लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि यहाँ रहेका कामदारले काम निरन्तर जारी राखेका छन् । सरकारले केही दिनअघि मात्रै कामदारलाई भित्रै सुरक्षित राखेर ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

कोरोना भाइरसका कारण सुरुमा चीनले सामग्री रोकेको थियो भने पछिल्लो समय रसुवागढी नाका बन्द भएपछि विमानस्थलका लागि आवश्यक सामान नेपाल भित्रिन पाएका छैनन् । चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश फर्किएका २० जना प्राविधिक कामदार पनि चीनमै रोकिएका छन् । विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले प्राविधिक र कामदार गरी २८ जनाको चिनियाँ टोली विमानस्थल निर्माणमा खटिएको छ । उनीहरू लकडाउनको बेला पनि दिनरात नभनी काम गरिरहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार परियोजना क्याम्पभित्रै बस्ने मजदुरहरूले धमाधम काम गरिरहेका छन् ।

लकडाउनका कारण धेरै क्षेत्रको निर्माण कार्य ठप्पजस्तै भए पनि हाम्रो काम जारी छ, २८ जना चिनियाँ कामदारसहित ८० जना कामदारले विमानस्थल निर्माणको काम गरिरहेका छन्, अधिकारीले भन्नुभयो । विमानस्थल निर्माणका लागि लकडाउनअघि सम्म दैनिक दुई सय कामदार खटिएका थिए । अहिले भने क्याम्पभित्र रहेकाले मात्र कामलाई निरन्तरता दिएका हुन् । विमानस्थलको पुरानो धावन मार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तारबारको काम चलिरहेको आयोजना प्रमुख अधिकारीले बताएका छन् ।

उनले भौतिक पूर्वाधारको काम अझै १० प्रतिशत बाँकी रहेको बताएका छन् । जसमा ६ प्रतिशत उपकरण जडानको काम र ४ प्रतिशत भौतिक पूर्वाधारका अन्य काम बाँकी छन् । लकडाउनका बेला अन्य गतिविधिमा स्थानीय प्रशासनले कडाइ गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने भनेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनका बेलामा पनि काम गर्न अनुमति दिएको हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्