Logo

कोरोनाविरुद्धको लडाईमा भारतसँग सहकार्य गर्नुपर्ने प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री ओली मौन  !



काठमाडौं, २८ चैत्र । हालै बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाईमा भारतसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएका छन् । तर, प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमति वा विमति नराखी मौन बसेको बुझिएको छ ।

नेकपाका एक नेताले दिएको जानकारीअनुसार नेपालमा कोरोनाको जोखिम न्यूनिकरण गर्नको लागि भारतसँग सहकार्य गर्नुपर्नेमा प्रचण्डको जोड थियो । दाहालको प्रस्तावमा सचिवालयका सबै सदस्यहरुको साथ र समर्थन थियो । तर, अध्यक्ष ओली भने मौन बसेका थिए । दाहालले नेपालमा कोरोनाविरुद्धको लडाईमा सरकारले सबैलाई साथमा लिएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।

उनले अहिले घोचपेच गरेर जान नहुने पनि तर्क गरेका थिए । भारतले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै लकडाउन लगाएपछि नेपालले पनि लकडाउन लगाएको हो । नेपालले आगामी २०७७ साल बैशाख ३ गते राति १२ बजेसम्म लकडाउन कायम गरेको छ ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले समेत भारतमा लकडाउन लम्बिए नेपालमा पनि स्वतः लम्बिने प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खनालले नेपालमा कोरोनाको जोखिम नियन्त्रणको लागि लकडाउन नै उत्तम कदम भएको सुनाउँदै नेपालमा लकडाउन कति समय लम्बिन्छ ? या लम्बिँदैन भन्ने कुरा भारतमा भर पर्ने बताएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्