Logo

ओली-मोदी संवादः कोरोना भाइरसविरुद्ध नेपाल-भारतबीच अझ सशक्त सहकार्य



काठमाडौं, २८ चैत्र । नेपाल र भारतले कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन संवादमा त्यस्तो सहमति भएको हो ।

दिउँसो भएको टेलिफोन संवादबारे दुवै देशका प्रधानमन्त्रीले ट्वीटरमार्फत् जानकारी दिएका छन् । प्रधानन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन्, ‘आज मैले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धमा सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटमार्फत कोभिड १९ विरुद्धको संयुक्त लडाईंमा नेपालसँगै ऐक्यवद्ध भएर उभिएको बताएका छन् । उनले भनेका छन्, ‘म नेपाली जनताको कोरोना भाइरसविरुद्धको चुनौतीपूर्ण संघर्षमा देखिएको प्रतिवद्धताको प्रशंशा गर्दछु ।’

दुवै देशका नेताबीच लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको बताइएको छ । अहिले नेपाल र भारत दुवै देशबीच लाखौं नागरिक एक अर्काको मुलुकमा छन् । हजारौं एक अर्काको नागरिक सीमामा रोकिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैगरी, भारत सरकारले दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादबारे प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । विज्ञप्तिमा दुवै देशबीच सहकार्य सशक्त बनाउने सहमति भएको उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विश्व महामारीसँग जुधिरहँदा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको उल्लेख छ ।

दुवै देशका प्रधानमन्त्रीले कोभिड १९ सँग जुधिरहँदाको आवश्यक सहयोग र अनुभव आदानप्रदानका लागि दुवै देशका अधिकारीबीचको समन्वय जारी राख्नेबारे समेत सहमति गरेका छन् । –File Photo



प्रतिक्रिया दिनुहोस्