Logo

९७ हजारको मृत्यु, १६ लाख २२ हजार संक्रमित, ४९ हजारको अवस्था चिन्ताजनक



चैत २८, काठमाण्डौ । शुक्रबार साँझ ७ बजेसम्म कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुनेको संख्या ९७ हजार २ सय नाघेको छ । विश्वभर अहिलेसम्म यो भाइरसका कारण १६ लाख २२ हजार संक्रमित भएका छन् ।

संक्रमितमध्ये ३ लाख ६६ हजार निको भएका छन् । उपचाररत ४९ हजारको अवस्था भने चिन्ताजनक छ । अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ । त्यहाँ अहिलेसम्म १८ हजार २ सयभन्दा बढिको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४३ हजार पुगेको छ ।

स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ९ सय नाघेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ५७ हजार छ । संक्रमण भने सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा अहिलेसम्म ४ लाख ६८ हजारभन्दा बढिमा संक्रमण भएको छ भने करिब १६ हजार ७ सयको ज्यान गएको छ ।

कोरोनाको उद्गमस्थल चिनमा भने ८१ हजार ९ सय संक्रमित भएका छन भने ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा चिनमा कोरोना नियन्त्रण उन्मुख छ । उता इरानमा ६८ हजार संक्रमित हुँदा ४ हजार २ सय जनाले ज्यान गुमाएका छन् । फ्रान्सका १२ हजार २ सय नागरिकले ज्यान गुमाएका छन् भने १ लाख १७ हजार संक्रमित छन् । बेलायतमा पनि करिब ८ हजारले ज्यान गुमाइसकेका छन् । त्यसैगरी नेदरल्याण्डमा २ हजार ५ सयभन्दा बढिले जनाले ज्यान गुमाएका छन् ।

बेल्जियममा ३ हजारभन्दा बढीले ज्यान गुमाउँदा स्विजरल्याण्डमा ज्यान गुमाउनेको संख्या एक हजार पुग्न लागेको छ । दक्षिण कोरियामा २ सय ८ जनाको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ सय २९ पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ६ हजार ७ सय नाघेको छ । उता ब्राजिलमा १८ हजार संक्रमित हुँदा झण्डै एक हजारले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्