Logo

अमेरिकाबाट चीनले ‘विश्व महाशक्ति’को पहिचान खोस्न खोजेको हो ?



एजेन्सी, २८ चैत्र । अमेरिका विश्व महाशक्तिका रुपमा परिचित छ । सँसारमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका सैन्य शक्तिका दृष्टिले पनि बलियो छ ।

अमेरिकाको बलियो प्रभाव युरोप, एशिया, अफ्रिकालगायतका महादेशसम्म छ । अहिले पनि विश्वका कतिपय मुलुकमा अमेरिकी सैन्य अखडा छन् । जापान, दक्षिण कोरिया, फिलिपिन्स, अफगानिस्तान, इराकलगायतका मुलुकमा अमेरिकाको सैन्य अखडा छन् ।

समुन्द्रमा पनि अमेरिकी युद्धपोतहरुको बोलवाला छ । एउटै युद्धपोतमा चार हजारभन्दा बढी नौसैनिक बसेका हुन्छन् ।

अमेरिकाको अन्तरिक्षमा पनि प्रभाव छ । अमेरिकाले चन्द्रमा मान्छे पठाएको दशकौं भइसकेको छ । उसले मंगल ग्रहमा मान्छे पठाउने तयारी गरिरहेको छ । अन्तरीक्षमा अमेरिकी यानहरु प्रक्षेपण भइरहन्छन् । अमेरिकाले अन्तरीक्ष सेनाको घोषणा गरिसकेको छ ।

यति शक्तिशाली भइकन अहिले अमेरिका इतिहासकै ठूलो संकटमा छ । कोरोना भाइरसको संक्रमण अमेरिका यति फैलिएको छ कि महामारीको केन्द्रबिन्दु भनिएको छ । अमेरिकामा चार लाखभन्दा बढी संक्रमित भइसकेका छन् । १६ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमणले मानवीय क्षतिसँगै अमेरिकामा आर्थिक क्षति पनि बढिरहेको छ । डेढ करोड मानिसले जागिर गुमाइसकेका छन् । यो अमेरिकाको इतिहासमै सबैभन्दा बढी हो ।

अमेरिकाका अधिकांश राज्य लकडाउन छ । मानिसहरु घरभित्र बसिरहेका छन् । यसले त्यहाँको अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ । यसकारण अमेरिकाले आफ्नो शक्ति गुमाइरहेको तर्कहरु भइरहेका छन् । रसियन इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका विज्ञ पाभेल जाकारोभले अमेरिकाले कोरोना भाइरस महामारीबाट उत्पन्न आर्थिक संकटका कारण शक्ति गुमाउने खतरा बढेको तर्क गरेका छन् । उनको भनाई उदृत गर्दै समाचार संस्था तासले लेखेको छ, ‘अमेरिकाको विश्वमा रहेको प्रभुत्व घट्दैछ र चीनले यसमा लाभ लिनेछ ।’ उनले आर्थिक संकट रोजगार गुम्नुलगायतका तथ्यांक प्रस्तुत गर्दै अमेरिकाका सामु ठूलो चुनौती आएको तर्क गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै विश्व स्वास्थ्य संगठन डब्लुएचओप्रति आक्रोश पोखेका छन् । डब्लुएचओका महानिर्देशक टेड्रोज अडहानोम घेब्रिससमाथि पनि असन्तुष्टि पोख्दै चीनप्रति ढल्किएको आरोप लगाए । चीनले डब्लुएचओलाई ४ करोड डलर अनुदान सहयोग दिने गरेको र अमेरिकाले ४० करोड डलरभन्दा बढी दिने गरेको समेत ट्रम्पले सुनाए । उनले भने, ‘तैपनि डब्लुएचओ चीनको बाटोमा गएको देखिन्छ । यो ठिक र विश्वप्रति निष्पक्ष भूमिका होइन ।’

अमेरिकी अधिकारीहरुले चीनप्रति असन्तुष्टि पोखेका धेरै घटनाहरु छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भने । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले पनि चीनलाई महामारी फैलनुको दोष लगाए । जवाफमा चिनियाँ विदेशमन्त्रालयका अधिकारीले अमेरिकी सैनिकका कारण वुआनमा महामारी फैलिएको आरोप लगाए । यो आरोप प्रत्यारोपका पछाडि अमेरिका र चीनबीच कोरोना महामारीलाई अवसरमा बदल्ने प्रतिष्पर्धा पनि देखिएको छ । चीनमा शुरुमा कोरोना भाइरस देखापर्दा एकजना अमेरिकी अधिकारीले अब अमेरिकामा रोजगारीको अवसर खुल्ने बताएका थिए । यसप्रति चिनियाँ मिडियाले तिव्र असन्तुष्टि व्यक्त गरेका थिए ।

अमेरिका र चीनबीच अहिलेको महामारीमा पनि प्रभाव बढाउने प्रतिष्पर्धा चलिरहेको छ । यो अमेरिकाका लागि प्रभुत्व कायमै राख्ने चुनौती छ भने चीन प्रभुत्व बढाउन सक्रिय भइसकेको छ । अमेरिकी मिडियाले हालैमात्र साउथ चाइना सीमा सक्रियता बढाएको खबर आएको छ । यो यस्तो बेला भएको हो जतिबेला अमेरिकी युद्धपोतमा नौसैनिकहरु कोरोनाको संक्रमणले समस्यामा परेका छन् ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्