Logo

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित



२७ चैत : जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाई छ ।

यसै बर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठिक एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ । प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियाेिगता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार बताए । जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गरेका छन् ।

“आगामी जुलाईसम्ममा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन, त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिन,” उनले भने । शुक्रबार आयोजित पत्रकार अन्तरक्रियामा उनले तोकिएकै मितिमा प्रतियोगिता हुने बारेमा आफुसँग स्पष्ट जवाफ भएको बताए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री आवेले कोरोना भाइरस विरुद्धको लडाईलाई छिटो छरितो, प्रभावकारी र शसक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नु परेको भन्दै उहाँको आलोचना पनि भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक बर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तिब्र गतिमा अगाडी बढाइने बताए । उनले त्यतिबेलासम्म कोरोना भाइरसको सङ्क्रमण अन्त्य हुने आशा पनि व्यक्त गरे ।

जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना सङ्क्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्