Logo

सरकारको विरोध गर्ने पार्टीका नेतालाई भट्टराईको जवाफ-तपाईको पालालाई फर्केर हेर्दा आफूले बोलेको कुराप्रति शरम हुन्थ्योकी



काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र उच्चस्तरीय समन्व्य समितिले चालेका कदमहरु प्रभावकारी रुपमा तल्लोस्तर सम्मै कार्यान्वयन भैरहेको स्पष्ट पारेका छन् । लकडाउन कार्यान्वयन गर्नेदेखि संक्रमणको सम्भावितहरुलाई क्वारेन्टाईनमा राख्नेलगायतका महत्वपूर्ण काममा सरकार सफल भएको उनको दाबी छ । उनले विदेशबाट नेपाल फर्किएकाहरुको डाटा संकलनदेखि राहत वितरणसम्मको काममा राज्यको माथिदेखि तलसम्मका निकायहरु प्रभावकारी ढंगले अघि बढिरहेको पनि विश्वास दिलाए ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनताले समेत सरकारले पछिल्लो समय लिएको निर्णय र चालेको कदम अत्यन्तै राम्रो छ भनेर भनिसकेको पनि उनले स्पष्ट पारे । उनले भने, “पछिल्लो समय रिपोर्टले के देखाएको छ भने कि सरकारले लिएको निर्णयको पक्षमा झण्डै दुई तिहाई जनताले समर्थन जनाएका छन् । एकदमै गरेन भनेर विरोधनै गर्ने त २ प्रतिशत भन्दा कम जनताले भनेका छन् । त्यसो भएको हुना के देखिन्छ भने सरकारले सही बेलामा सही निर्णय लिएको छ ।”उनले पार्टीभित्रबाट सरकारको कदमबारे कुनै विरोध नभएको समेत जिकिर गरे । तर, पार्टी ठूलो भएकोले व्यक्तिपिच्छे केही फरक धारणा आउनु स्वभाविक भएको समेत उनले तर्क गरे । उनले भने,”तर, त्यसको खासै असर न समाजमा, न देशमा र न त पार्टीभित्र पर्दैन् ।”

उसो भए तपाईकै पार्टीका शीर्ष नेताहरुले भ्रष्टाचार बढ्यो, कुशासन भयो, अनियमितता भयो भनेर किन विरोध गरिरहेका छन् त ? भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”यसमा मलाई पनि बढा अचम्म के लागिरहेको छ भने नेताहरु विरोधीकै स्वरमा, अझ विरोधीभन्दा अगाडि बढेर, विपक्षीभन्दा अघि बढेर पार्टीभित्रका नेताहरुले जुन अभिव्यक्ति दिरहनुभएको छ, उहाँहरुले त्यो तहको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिहरु अहिलेको यस्तो संवेदनशील अवस्थामा किन दिरहनुभएको छ ? म आफैंपनि छक्क परिरहेको छु । दोस्रो कुरा, जो जोले यो अभिव्यक्ति दिरहनुभएको छ, उहाँहरुले पार्टीको पनि नेता भएर र सरकारको पनि जिम्मेवारी हाँकेर आउनुभएको मान्छे हुनुहुन्छ। उहाँहरुले आफूलाई अलिकति पछाडि फर्केर हेर्नुपर्ने जस्तो लाग्छ मलाई । मैले बोल्दाखेरि मेरो पालामा मैले गरेको थिएँ ? कुन अवस्थामा थिएँ म ? के कुरामा म विवादमा आएको थिएँ ? मलाई के भनिएको थियो ? ती कति सही थिए ? कति के थिए ? भन्ने कुरा अलिकति सम्झिदिने हो भने अथवा उहाँहरुलाई सम्झाईदिने हो भने आफूले बोलेको कुराप्रति पनि अलिकति शरम हुन्थ्योकी जस्तो लाग्छ मलाई ।”



प्रतिक्रिया दिनुहोस्