Logo

ट्रम्पले मोदीसँग मागेका कोरोना रोकथामको ट्याब्लेट एचसीक्यु नेपालले पनि पाउने



काठमाडौं, २८ चैत्र । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी एउटा औषधीको निर्यात नरोक्न आग्रह गरे । कोरोना भाइरस रोकथामका लागि उपयोगी ठहराइएको त्यो औषधी हो- हाइड्रोअक्सिक्लोरोकिन अर्थात् छोटकरीमा एचसीक्यु । ट्रम्पको आग्रहपछि भारतले उक्त औषधी नरोक्ने प्रतिवद्धता व्यक्त गरे । अहिले भारत सरकारले उक्त औषधी माग अनुसार पाउने देशहरुको सूची सार्वजनिक गरेको छ जसमा नेपाल पनि परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादमा एचसीक्यु नेपालमा पनि पठाउनेबारे छलफल गरेको बुझिएको छ । भारतीय सञ्चारमाध्यमले ओलीले मोदीसँग आफै संवाद गरी एचसीक्युको आपूर्तिबारे समेत कुराकानी गरेका थिए । फलस्वरुप भारतले एचसीक्यु ट्याब्लेट निर्यात गर्ने देशको सूचीमा नेपाल पनि परेको छ ।

भारतबाट एचसीक्यु ट्याब्लेट निर्यात गर्ने देशको सूचीमा आफ्नो देशलाई राखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्रजिलियन राष्ट्रपति जैर एम. बोलसोनारो र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु समेतले मोदीलाई धन्यवाद दिएका छन् । जापानी प्रधानमन्त्री सिन्जो अबेले पनि यसबारे शुक्रबार मोदीसँग कुराकानी गरेका छन् ।

अहिलेसम्म कोरोना रोकथाममा गेम चेन्जर ठानिएको एचसीक्यु पाउन सक्ने १३ देशहरुमध्ये छिमेकमा नेपाल, भुटान, अफगानिस्तान, मालदिभ्स र बँगलादेश रहेका छन् । त्यसबाहेक युरोपका स्पेन र जर्मनी, दक्षिण अमेरिकाका ब्राजिल र डोमिनिकन रिपब्लिक, पश्चिम एशियाको बहराइनसहित संयुक्त राज्य अमेरिका छ ।

भारतले नेपालसहित छिमेकी मुलुकहरुलाई एचसीक्यु प्राप्त गर्नसक्ने देशको सूचीमा प्राथमिकतामा राखेको छ । भारतले एक करोड ४० लाख एचसीक्युको ट्याब्लेट निर्यात गर्न अनुमति दिइसकेको वीअन न्युजले जनाएको छ ।

भारत सरकारको कोभिड १९ सम्बन्धित नियमित पत्रकार सम्मेलनमा भारतीय अधिकारी डम्मु रविले एचसीक्युको विश्वव्यापी माग उच्च रहेको बताएका छन् । धेरै देशहरुबाट माग आएकाले आन्तरिक आवश्यकतालाई मध्यनजर गरी पहिलो सूचीका देशहरुको नाम अनुमोदन गरिएको बताए । पहिलो माग गर्नेलाई पहिला दिइने भएपनि छिमेक उच्च प्राथमिकतामा रहेको उनको भनाई थियो ।

यसअघि भारतले एचसीक्युको निर्यात निषेध गरेको थियो । भारतमा अहिले एक करोड एचसीक्यु आवश्यक रहेको जनाइएको छ । भारतसँग अहिले सवा तीन करोड एचसीक्यु ट्याब्लेट छ । अझै एक देखि दुई करोड ट्याब्लेट उत्पादन गर्न सक्छ ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्