Logo

अफगान सरकारद्वारा तीन सय ६१ तालिबानी रिहा



१ वैशाख । अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिए ।

उनले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको बताए । प्रवक्ता फैजलले मुलुकको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको बताए ।

यसअघि अप्रिल ८ मा १०० जना तथा गत बिहीबार अरु १०० जना तालिबानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आगामी दुई साताभित्रै एक हजार ५०० तालिबान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ ।

अमेरिका र तालिबानबीच भएको सम्झौतामा ५ हजार तालिबान लडाकू र तालिबानको कब्जामा रहेका १ हजार अफगान सरकारी फौजलाई मुक्त गर्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्