Logo

लकडाउन लम्बिँदा यातायात व्यवसायी मर्कामा



काठमाडौँ, ३ वैशाख । दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा परेका हुन् ।

लामो समय लकडाउन हुने र बैङ्कले एक सुका पनि नछोड्ने हो भने व्यवसायी यातायात क्षेत्रबाट पलायन हुने अवस्थामा पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार करिब चार लाख मालवाहक तथा यात्रुवाहक सवारीसाधन यतिबेला ठप्प छन् । २३ दिन भइसक्यो सवारीसाधन सञ्चालन नभएको तर बैङ्कले ब्याज र किस्तामा कुनै सुविधा नदिएपछि व्यवसायी पलायनको अवस्थामा पुगेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।

उनले भने, “हामीले गाडी चलाउन पाएका छैनौँ, बैङ्कको किस्ता र ब्याज कसरी तिर्नु तर बैङ्क तथा सहकारीले जसरी पनि किस्ता तिर्नुपर्छ भनिरहेका छन्, कोरोनाले त गरिब मजदुरलाई भोकै मारेर बैङ्कलाई उभो लगाउने भयो, जुकाले चुसेझँै बैङ्कले मजदुरलाई चुसिरहेका छन् यतिबेला पनि । ” महासङ्घका अनुसार ९० प्रतिशत व्यवसायीले बैङ्कको किस्ताबाट गाडीमा लगानी गरेका छन् । एउटा गाडीमा ८० प्रतिशतसम्म बैङ्क तथा सहकारीको लगानी हुन्छ । सार्वजनिक यातायातको क्षेत्रमा करिव ४० लाख प्रत्यक्ष अप्रत्यक्ष आश्रित छन् । काम गर्न नपाएपछि छाक टार्न समस्या भइरहेको बेला बैङ्कले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्