Logo

कोरोना नियन्त्रणमा जनप्रतिनिधिलाई चटारो



काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले चटारो छ । बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन् ।

सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) पालना गर्न अधिकांश नागरिक घरभित्रै भए पनि स्थानीय तहका जनप्रतिनिधि भने सुरक्षित रूपमा सेवा प्रवाहमा खटिँदै आएका छन् । स्वास्थ्यकर्मीपछि स्थलगत रूपमै खटिएर कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने काममा जनप्रतिनिधि सक्रिय छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घका अनुसार अहिले ७५३ स्थानीय तहमा ३६ हजार ७२२ जनप्रतिनिधि छन् । देशभरका स्थानीय तहको तल्लो निकाय वडामा समेत जनप्रतिनिधि सक्रिय छन् । टोलटोलमा सम्पर्क व्यक्ति तोकी नागरिकको दैनिक स्वास्थ्य अवस्थाको जानकारी लिने, टोलमा कुनै व्यक्तिलाई रुघा, खोकी, ज्वरो जस्ता कोरोना भाइरसका लक्षण देखा परे तत्काल ती व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्यमा धेरै समस्या आए उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने काम गरिरहेका छन् ।

गाउँपालिका र नगरपालिकामा विपत् व्यवस्थापन कोष खडा गरी कोषमा रकम सहयोग गर्न दातालाई आह्वान गर्ने, आवश्यक पर्ने न्यूनतम स्वास्थ्य सामग्री, पन्जा, सेनिटाइजर, ज्वरो नाप्ने थर्मोमिटर (थर्मल गन) लगायतका सामग्री आपूर्ति गर्ने, व्यवस्थापन गर्ने काममा जनप्रतिनिधि सक्रिय छन् । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विदेशबाट आफ्नो नगरपालिकामा फर्किएका नागरिकको उच्च निगरानी राखी त्यसको तथ्याङ्क सङ्कलन गर्ने, दैनिक ज्याला मजदुरी गरी खाने वर्गको विवरण तयार गरी राहत सामग्री उपलब्ध गराउने काममा सक्रिय भएको बताएका छन् ।

“बजारमा उपलब्ध खाद्य वस्तुको सहज बिक्रीवितरण गर्न सुरक्षा निकाय र निजी क्षेत्रसँग समन्वय गर्ने, आवश्यकताअनुसार क्वारेन्टाइन निर्माण गर्ने र असङ्गठित क्षेत्रमा कार्यरत दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिका लागि राहत वितरण र त्यसको अनुगमन गर्ने काममा हामी जनप्रतिनिधि व्यस्त भएका छौँ । ” गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् । “कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन हामी दिनरात खटिएका छौँ, आराम गर्ने फुर्सद छैन । ” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्