Logo

कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ



काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयौं बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ ।

गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताएका छन् । पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने,

“खरबुजा खेती गर्न बैंकबाट रु चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ ।” लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उनको दुःखेसो छ । उनले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्