Logo

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम



काठमाडौँ, ३ वैशाख । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।

नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट ८१४१९३ डायल गरेर त्यहाँ सोधिएको उत्तर दिनुपर्ने छ । टेलिकमले त्यहाँ चरणबद्ध प्रश्न सोध्ने व्यवस्था गरेको छ । ज्वरो आए नआएको, खोकी लागे नलागेकोजस्ता प्रश्न त्यसमा सोधिएको छ । उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन् । प्रयोगकर्ताबाट प्राप्त उत्तरको आधारमा टेलिकमले लक्षणको विश्लेषण गर्ने छ । उत्तरको आधारमा रातो, पहेँलो अथवा हरियो क्षेत्रमा नम्बर विभाजन गर्ने व्यवस्था गरेका छौँ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जनाएको छ । त्यसरी छुट्याइएको नम्बर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई उपलब्ध गराउने छ । जोखिमयुक्त रातो क्षेत्रमा परेका प्रयोगकर्तालाई समितिबाटै सम्पर्क गर्ने व्यवस्था हुने उनले जानकारी दिएका छन् ।
अपरिचित नम्बरमा फोन नगर्न आग्रह
विगत केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकामा त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ ।

विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने गरेकामा त्यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा फोन नगर्न प्राधिकरणले प्रयोगकर्तालाई सुझाव दिएको छ । त्यस्तै म्यासेज नपढ्न र त्यहाँ आएका लिङ्क पनि नखोल्न प्राधिकरणले सचेत गराएको छ । प्रयोगकर्ता आफैँले फोन र म्यासेज नगरेसम्म त्यसबाट कुनै हानि नहुने प्राधिकरणले जनाएको छ । विगत केही दिनयता खासगरी नेपाली भाइबर प्रयोगकर्ताको नम्बरमा यस्तो एक घन्टीमै रोकिने गरी अपरिचित नम्बरबाट मिस्ड कल आएको पाइएको छ । पछिल्ला समय नेपालमा केही कम्पनीका ग्राहकका डेटा बाहिरिएपछि त्यहाँ प्रयोग भएको नम्बरमा यस्तो फोन आएको आशङ्का गरिएको छ । प्राधिकरणले त्यसरी बाहिरिएको फोन नम्बर तथा इमेलको दुरुपयोग नगर्न पनि यसअघि सचेत गराइसकेको छ । दुरुपयोग गर्नेलाई कानुनअनुसार कारबाही अगाडि बढाइने पनि प्राधिकरणले स्पष्ट पारेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्