Logo

सक्रिय हुँदै मिनी संसद्



काठमाडौँ, ३ वैशाख । कोरोना सङ्क्रमण (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामकारबाहीमा सुझाव, अनुगमन तथा निर्देशनका लागि संसदीय समिति भर्चुअल रूपमा सक्रिय हुन थालेका छन् । समिति सञ्चालन लगायतबारे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा परामर्श लिँदै गर्दा मङ्गलबार नै शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले भर्चुअल रूपमा बैठक राखिएको हो ।

परामर्शपछि समितिले सरकारलाई नौबुँदे सुझावसमेत दिएको छ । भिडियो कन्फ्रेन्समा सदस्यहरूले दिएको सुझावका आधारमा समितिले सरकारलाई सुझाव दिएको हो । भर्चुअल रूपमा समिति सञ्चालनका लागि नियमावली बाधक रहेको भन्दै यसअघि बुधबार अर्थ समितिले अर्थमन्त्री डा. युवराज खतिवडासँग तय गरेको परामर्श बैठक स्थगित भएको थियो । तर स्वास्थ्य तथा शिक्षा समितिले परामर्शपछि सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

समितिले स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया यथाशक्य छिटो गरी वितरण गर्न सरकारलाई सुझाव दिएको छ । भेन्टिलेटर, पीपीई, मास्क, किट लगायतका सामग्री यथाशक्य चाँडो खरिद गर्न समितिले सुझाव दिएका छन् । यस्तै परीक्षण प्रक्रियालाई तीव्रता दिन पनि समितिले सुझाव दिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्