Logo

मोदी र सि जिनपिङसँग मेरो गहिरो सम्बन्ध छ- प्रचण्ड



काठमाडौं, ३ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू सरकार परिवर्तन गरेर प्रधानमन्त्री बन्न खोजेको भन्ने हल्ला निराधार रहेको बताउँछन् । उनले अहिले राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिन्छन् । भारत र चीनबाट सुमधुर सम्बन्ध बनाएर कोरोनाविरुद्धको लडाईंमा जित हासिल गर्नुपर्ने बताउँछन् । प्रचण्डसँग यीनै विषयमा प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलाले गरेको विशेष कुराकानी:

अहिले विश्व कोरोनाको महामाहारीसँग जुधिरहेको छ, यतिबेला नेपाल सरकारले कोरोनाविरुद्ध चालेको कदम प्रभावकारी छ ?
कोरोनाविरुद्ध नेपाल सरकारले जे नीति र कार्यक्रम बनाएको त्यो मुलभूत रुपमा ठीक छ । मैले सुरुमै सर्वदलीय बैठकमा यो कुरा राखेको थिएँ । कोरोनाबाट जोगिने पहिलो कुरा रोकथाम नै हो । त्यसमा नेपाल सरकारबाट उठाएको कदम ठीक भएको म ठान्दछु । र, नेपाली जनताले पनि आम रुपमा सहयोग समर्थन गरेर यसलाई सफल बनाउन सहयोग गरेकै मैले देखेको छु । मैले त्यतिबेला पनि भनेको थिएँ, अहिले पनि भन्छु र भनिराखेकै छु, ‘जतिबेला मुलुकमा राष्ट्रिय विपत्ति आउँछ त्यति बेलामा मानवीयताको पक्षमा उभिनुपर्ने हुन्छ, सबैसँग हातेमालो, एकता गरेर मात्रै यस्ता खालका विपद्को सामान गर्न सक्छौं ।’ त्यो प्रयास मैले सुरुदेखि नै गरेको छु । र, सरकारले पनि विभिन्न रुपमा राष्ट्रिय सहमतिको कुरा गरिरहेको छ, त्यसलाई हामी सबैले समर्थन गरेका छौं ।
आज कोरोनाविरुद्ध सबै मिलेर लड्नपर्ने बेलामा प्रधानमन्त्री र तपाईंको सम्बन्ध कस्तो छ ?
पहिलो कुरा हामीले देशका ठूलठूला राजनीति परिवर्तन पनि राजनीति सहकार्य, समझदारी र राष्ट्रिय सहमतिका आधारमा ल्याउन सफल भएका हौं । यो देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न राजनीतिक दल, नागरिक समाज र पत्रकारको भूमिका अपरिहार्य छ भन्ने कुरा समाजमा प्रष्ट भइसकेको छ । यसमा मेरो के कति भूमिका रह्यो भन्ने कुरा इतिहास र जनताले मूल्यांकन गर्ने कुरा हो । म के मा खुसी छु भने, ‘त्यो राष्ट्रिय सहमति गराउने भूमिका खेल्ने योगदान गर्न मलाई अवसर प्राप्त भयो ।’ दोस्रो देशमा राष्ट्रिय विपत्तिका स्थितिहरु यो बीचमा पनि आए । चाहे त्यो महाभूकम्पको कुरा होस् या ठूला–ठूला पहिरो बाढीले पुर्याएका क्षतिका कुरा हुन् । ती विपत्तिहरुमा कहिले प्रधानमन्त्रीको रुपमा कहिले विपक्षीको रुपमा सबैलाई राष्ट्रिय सहमतिको रुपमा अगाडि लिएर जाने भूमिका खेल्ने अवसरहरु प्राप्त गरेँ । त्यसमा पनि गर्व छ । अझ अर्को महत्वपूर्ण कुरा त देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गराउन निकै चुनौतिपूर्ण भएको थियो । त्यसमा सबै राजनीतिक दलहरुको सहमतिबिना सम्भव थिएन । त्यसबेला संविधान सभामा पनि महत्वपूर्ण उपस्थिति देखाउने अवसर पाएको थिएँ ।
मैले त्यतिबेला कसैलाई तपार्ईलाई राष्ट्रपतिमा समर्थन गर्छु भने, कसैलाई तपाईंलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेर संविधान घोषणा गराउने भूमिका खेल्न सफल भएँ, त्यसमा पनि आपूmलाई गौरवान्वित ठान्दछु । अर्को महत्वपूर्ण कुरा थियो संघीयतालाई कार्यान्वयन गर्न सकिन्छ सकिँदैन भन्ने थियो । हिमाल, पहाड र तराईका जनतालाई एक बनाउन सकिन्छ कि सकिँदैन भन्ने थियो । तराईका जनतालाई पनि विश्वासमा लिएर देशलाई चुनावी प्रक्रियामा लान सफल भएँ । त्यसमा पनि म आपूmलाई गौरवाम्वित ठान्दछु । अहिले जसरी विश्वब्यापी रुपमा कोरोनाको समस्या देखिएको छ । यो त सानो कुरा होइन धेरै ठूलो कुरा छ । मानव जातिकै इतिहासमा एउटा ठूलो मोड भएर उभिएको छ यो कोरोना भाइरस । जसरी शक्तिशाली राष्ट्रहरुमा आक्रमण गरेर आक्रान्त पारेको छ । त्यसले धेरै प्रश्नहरु उब्जाएको छ । हाम्रो आर्थिक विकासको बारेमा, राजनीतिक मोडेलको बारेमा, खानपिनको बारेमा, संस्कार संस्कृतिको बारेमा, भूमण्डीकरण परिस्थितिको बारेलगायत धेरै प्रश्नहरु यसले जन्माइदिएको छ । जसरी अहिले नराम्रो रुपले यो भाइरस विश्वमा पैmलिएको छ । यसले नयाँ मानवीय सम्बन्ध र सम्वेदनाहरुलाई विकास गर्न मद्दत गर्छ भन्ने मलाई लाग्छ । अहिलेको विपत्तिलाई लिएर मानवीय एकता, समझदारी गरेर अगाडि बढ्ने कुरामा प्रधानमन्त्री र बीचम त्यस्तो कुनै विमती भएको म पाउदिँन । अहिले यो विषयमा बोल्ने बेलापनि होइन हामीले बलियो एकताको प्रदर्शन गर्नुपर्छ । नेपाली जनताले बडो धैर्यताकासाथ साथ दिइराखेको अवस्था छ । यसलाई सुदृढ गर्नुपर्छ । अन्य विषयमा हुने बहस, विवादहरुलाई अगाडि ल्याउन म विलकुल चाहन्न । दुई पार्टी मिलेर यति ठूला पार्टी बन्नुमा म र केपी ओलीको पहलले सम्भव भएको हो । त्यसकारण यतिबेला विवाद र विमतीका कुरातिर जान चाहन्नँ ।
तपाईं दुई पार्टी मिलेर चुनावमा गएर जनताको अपार साथ सहयोग पाउनुभयो, झन्डैझन्डै दुई तिहाई हाराहारी मत पनि प्राप्त गर्नुभयो तर, जब केपी ओली प्रधानमन्त्री बनिसकेपछि तपाईहरु दुईबीच राम्रो सम्बन्ध छ ?
मैंले पहिला पनि भनिसकेको छु । अहिले सकंकटमा मुलुक जेधिरहेको बेला धेरै समीक्षातिर लाग्ने होइन । हो, हिजो हामीले पहल गरेको हो । चुनाव जितेको हो । हामीबीचमा ठूलो जिम्मेवारी छ । यो बीचमा भएका राम्रा काम र कमीकमजोरीको समीक्षा पनि गर्नुपर्छ । गल्ती भएका छन् भने सच्याउनु पनि पर्छ । हिजो हामी जे भनेर चुनाव लडेका थियौं, ‘हामी सुशासन दिन्छौं, भ्रष्टाचारलाई रोक्छौं, विकास र समृद्धि दिन्छौं, भनेर जसरी भनेका थियौं त्यही उद्देश्यमा अटल रहनुपर्छ । तर यी विषयको समीक्षा गर्ने बेला अहिले होइन । अहिले चाहीं सबैसँग एकता, सहकार्य र सहमति गरेर कोरोनाविरुद्ध लड्न शक्ति लगाउने बेला हो । त्यसकारण म अहिले समिक्षातिर लाग्न चाहन्न ।
हिजो गिरिजाप्रसा कोइरालासँग १२ बुँदे समझदारी गर्नुभयो, अहिले कोपी ओली र प्रचण्डबीच पनि राम्रो समझदारी भनेर जनताले बुझ्दा हुन्छ ?
समझदारी नभएको भए त हामीले पार्टी एकता गरेर दुईवटा अध्यक्ष नै हुने थिएनौं नि । मुलभूत रुपमा त समझदारी छँदैछ । अस्तिको भएको बैठकमा पनि पार्टी एकतालाई अभैm सुदृढ गरेर लानुपर्छ भनेर जोड दिएका छौं । त्यसबेला हामीले सबै दलहरुसँग सहकार्य गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्छ भनेका छौं । त्यसमा हाम्रो सहमति नै छ ।
अहिलेको संकट समाधानका लागि सबै दलको सहभागितामा उच्चस्तरीय संयन्त्र बनाएर अगाडि बढ्नु्पर्छ भन्नुभएको हो ?
राष्ट्रिय सहमति बनाएर जानुपर्छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनाएर जानुपर्छ भनेर मैले भनेको हो । तर, त्यो भनिरहँदा मैंले अर्को कुरा के पनि भनेको छु भने, ‘मुख्य कुरा सरकार हो’ । सरकारले बनाउने संयन्त्र जो बनेको छ त्यो ठीक छ । तर राजनीतिक सहझदारी सहमति बनाउन प्रमुख पतिपक्ष दललगायतका अन्य दलहरुलाई पनि विश्वासमा लिएर जाने सन्दर्भमा मैले भनेको हो । मैंले भनेका कुरा सरकारलाई अहिले आवश्यक छैन भन्ने लाग्छ भने फेरि जबर्जस्ती गर्न त खोजेको छैन । यदि त्यस्तो बन्यो भने पनि प्रधानमन्त्रीकै नेतृत्वमा बन्ने हो है भनेको थिएँ । यदि त्यो ठाउँमा म भए त त्यसो गर्थे । अहिले सरकार त हाम्रा अर्का अध्यक्ष केपी ओलीको नेतृत्वमा छ । उहाँलाई जे सजिलो लाग्छ त्यही गर्ने हो । मुख्य कुरा राष्ट्रिय सहमति र एकता बनाउन हामीबाट पहल गर्नुपर्छ ।
तपाईंले यसो भनिरहँदा प्रधानमन्त्रीले त ‘यो संकट समाधानका लागि सरकार सक्षम छ, कुनै पनि संयन्त्र चाहिँदैन’ भन्नुभयो नि ?
यसमा मुख्य काम सरकारकै हुन्छ । यो कोरोनासित लड्ने, राष्ट्रिय सहमति बनाएर जाने, विश्वासनीय र पारदर्शी तरिकाले काम गर्ने सबै जिम्मा सरकारकै हो । त्यो कति भयो, कति भए त्यसको जनताले र इतिहासले समीक्षा गर्छ । म त्यही पार्टीको अर्को अध्यक्षको नाताले यो सरकार कोरोना रोकथामको लागि लकडाउनलगायतका काम गरेर जोगाउन लागेको छ भन्नेमा प्रष्टै छु । तर, भोलि यसले अभैm समस्या पार्न सक्छ । त्यसको निम्ति सबै शक्तिहरुसँग सहकार्य, एकता गरेर लाग्नुपर्छ भन्ने हो । ऋषिजी तपाईंले मलाई जोड गरेर हामीभित्र झगडा छ भन्ने गराउन पाउनुहुन्न । हामीबीच राम्रो सम्बन्ध छ । अझै एकताबद्ध भएर सबैसँग सहकार्य, सहमति र एकतासाथ अगाडि बढ्नुपर्छ र कोरोनालाई निस्तेज बनाउनुपर्छ भनेर मेरो बलबुताले भ्याएसम्म लागिरहन्छु । अन्य समीक्षा, टिकाटिप्पणीका प्रश्न नसोध्नुहोला ।
कोरोनाविरुद्ध लडन् सरकारले चालेको कदमप्रति पार्टीको पूर्ण सहयोग प्रधानमन्त्रीलाई ?
मिडियामा स्वास्थ्य सामाग्रीलगायत थुप्रै कुराहरु आइरहेका थिए । त्यसैबीचमा सचिवालय बैठक बसियो । हामी सबैले प्रधानमन्त्रीलाई र प्रधानमन्त्री आफैले पनि भन्नुभयो, ‘यो के भएको हो ? म छानविनमा छु, अनियमितता गर्ने कसैलाई म छोड्दिँन ।’ त्यो गर्नुपर्छ, त्यसको जिम्मा चाहीं प्रधानमन्त्रीकै हो भन्ने भएको हुनाले हामीबीच त्यस्तो विमति, समस्या छैन । मान्छे कृत्तिम ढंगले बिमति छ भन्यो भने त्यसो हुँदैन ।
अहिले सरकार परिवर्तनको सम्भावना छैन ?
अहिलेको अवस्था त्यस्तो छैन ।
त्यो घोषणा तपाईले गरिरहेको हो ?
त्यो पहिला नै स्पष्ट भएर टुंगिसकेको हो ।
तपाईं आफै प्रधानमन्त्री हुन भित्रभित्रै गृहकार्य गरेको कुरा आइरहेको छ नि ?
त्यो बेकारको कुरा हो । केही मान्छेलाई मनोगत रुपले ‘वनको बाघले खानु कहाँ छ, कहाँ मनको बाघ’ले खाएजस्तो कसैलाई लागेको होला त्यो काम नपाएर गर्ने बेकारको हल्ला हो ।
अहिले तपाईंहरु एक ढिक्का भएर कोरोनाविरुद्धको लडाईंमा हो ?
हो, हामी सबै एक भएर कोरोनाको विरुद्धमा लडिराखेको हो ।
नेपालले विजय प्राप्त गर्छ ?
नेपालले विजय प्राप्त गर्छ भन्नेमा विश्वस्त छु । अहिले हामीले जसरी काम गरिराखेका छौं । त्यसको आधारमा नेपालले विजय प्राप्त छ । हुन त संसारका धेरै वैज्ञानिकहरु लाग्दा पनि अहिलेसम्म यसको भ्याक्सिन पत्ता लागेको छैन । त्यो नलाग्दासम्म पुरै निर्मूल हुन्छ भन्न त सकिँदैन । विश्व लागेकाले छिट्टै पत्ता लाग्छ । त्यसपछि नियन्त्रण र निर्मूल हुन्छ भन्नेमा आशावादी भएर अगाडि बढ्नुपर्छ ।
तपाईंको त भारत र चीन दुवैदेशका राष्ट्र प्रखहरुसँग राम्रो सम्बन्ध छ, कोरोनासँग लड्न नेपालले उनीहरुसँग कस्तो सम्बन्ध राख्नुपर्छ ?
उहाँहरुको सहकार्य राम्रो ढंगले अगाडि बढिरहेको छ । मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिङ पिङसँग नजिकबाट बैठक, छलफल र अझ भारतको गोवामा त मेरो उहाँहरुसँग अन्तरंग कुरा गर्ने अवसर जुट्यो । चाहे त्यो त्रीदेशीय साझेदारीका बारेमा होस् या अन्य साझेदारीको कुरा गर्ने सन्दर्भमा मेरो दुवै नेतासँग गहिरो सम्बन्ध छ । म प्रधानमन्त्री हुँदा पनि दुवैतिर विशेष दूत पठाएर सन्तुलन कायम गरेको थिएँ । त्यसले एउटा सकारात्मक सन्देश दियो र अहिले यहाँसम्म आइपुग्दा पनि हामीबीच सन्तुलित सम्बन्ध छ भन्ने लाग्छ । कोरोनाकै सन्दर्भमा पनि मैले उहाँहरुले गरेको सहयोगका निम्ति बधाई पनि भनेको छु । र, सहकार्यको निम्ति सहयोग र समर्थनको खाँचो छ । हामीले स्वास्थ्य सामाग्रीको सहयोग पाउने भनेकै चीनबाट हो । अमेरिका र युरोप कोरोनाका कारण आफै आक्रान्त छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्