Logo

कोरोना अपडेटः विश्वभर सवा लाख भन्दा बढीको मृत्यु, अमेरिकाका अधिकांश राज्यमा संकटकाल घोषणा



३ वैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबारसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार पाँच सय ९८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख १४ हजार दुई सय ४६ मानिस कोरोना संक्रमित भएका छन् भने २६ हजारभन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४०० जनाको मृत्यु भएको थियो ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार भन्दा बढीको ज्यान गएको छ भने एक लाख ६२ हजार चार सय ८८ संक्रमित छन् । स्पेनमा भने १८ हजार पाँच सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ७७ हजार ६ सय ३३ संक्रमित भएका छन् ।

संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरु अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्