Logo

झुलाघाटका र १५ सय नेपाली फिर्ता ल्याउने स्थानीयस्तरमा सहमति, केन्द्रको निर्णय पर्खदै



गोकर्ण दयाल, बैतडी । भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ ।

सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं कोभिड –१९, सङ्कट व्यवस्थापन समितिका अध्यक्ष आनन्द पौडेलको अध्यक्षता बसेको बैठकले निर्णय गरेको हो ।

बैठकले भारतबाट घर फर्किन सीमा नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याएर सुरक्षित क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँचका सबै प्रक्रिया पूरा गर्ने निर्णय समेत गरेको छ ।

झुलाघाट र धारचुलामा रहेका करिब एक हजार पाँचसय नेपाली सीमा नाकामा रोकिएका छन् । ती मध्ये बैतडीका मात्रै एक हजार ९४ जना रहेका छन् । झुलाघाटमा २४९, पिथौरागढमा २४५ र दार्चुलामा छसय गरि बैतडीका मात्र एकहजार ९४ जना रहेका छन् ।

दार्चुलामा रहेकाहरुको दार्चुलामै र झुलाघाट र पिथौरागढमा रहेकाहरुको बैतडीमा सुरक्षित क्वारेन्टाइनमा व्यवस्थापन हुने सङ्कट व्यवस्थापन समितिले निर्णय गरेको समितिमा अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

सीमामा रहेका नेपालीलाई जिल्ला स्तरमै राख्न क्वारेन्टाइन निर्माणको काम सुरु भएको र नेपाल सरकारले अनुमति दिने बित्तिकै शनिबार वा आईतारसम्म स्वदेश ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रजिअ पौडेलले भन्नुभयो, “स्थानीय तहका प्रमुखसहितको बैठकले सीमा नाकाबाट ल्याउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । सीमामा रहेका नेपाली लामोसमयदेखि भारतीय क्वारेन्टाइनमै हुनुहुन्छ तर, स्वदेश ल्याईसकेपछि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा राखेर पर्याप्त चेकजाँच गरेपछि मात्र स्थानीय तहमा पठाउने निर्णय भएको छ ।”

बैठकले जिल्लामा आवश्यक पर्ने खाद्यान्न आपूर्ति, पालिकामा रहेका क्वारेन्टाइनमा आवश्यक साधन श्रोत उपलब्ध गराउने समेत निर्णय गरेको छ ।-गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्