Logo

सुनसरीकाे मस्जिदमा १० जना भारतीय नागरिकसहित ५५ जना विदेशी



जयकृष्ण यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको छ ।

नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता नजिक स्थायी ठेगाना भएका भारतीय नागरिकहरु मस्जीदमा फेला परेको हो ।

सामाजिक अभियन्ता समेत रहेका मन्सुरीका अनुसार वर्ष ४२ का अब्दुल शेख, वर्ष ३५ की साहिदा बिबि, वर्ष ४२ का सवुल, वर्ष ४० की मुसानेहा, वर्ष ५५ का हजेयामुद्दिन, वर्ष ५० की अलिया बिबि, वर्ष ५० का खुटुवुद्दिन, वर्ष ४५ की साजेदा बिबि, वर्ष ४० का अफाजुल र वर्ष ३२ की अरजुमन बिबि रहेका छन् ।

सभापति मन्सुरीले भने उनीहरु सँग सोधपुछ गर्दा उनीहरुले श्रीमान श्रीमती रहेको बताउँदै सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन आएका जमातीहरु सभा सकिएपछि इनरुवाका विभिन्न मस्जीदमा बस्दै आएका रहेछन् ।

लक डाउ शुरु भएपछि भोक्राहा नरसिह गाउपालिका ५ टपरामा रहेको खतिजन कुव्रामा रहेको मस्जीदमा आश्रय लिंदै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीसहितले आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षित रुपमा क्वारेन्टाईन सरह बस्न लगाई आवश्यक खाद्यान्न दिएर एकजना कुरुवाको जिम्मा लगाईएको मन्सुरीले बताउनुभयो ।

उनीहरुलाई कोरोना भाइरसको सक्रमण फैलिने क्रममा रहेकाले मस्जीदबाट बाहिर नजान र सरकारले बताएको नियमपालना गर्न अनिवार्य रहेको जानकारी गराई क्वारेन्टाइन सरह बस्न लगाईको मन्सरीले जानकारी दिएका छन ।

सुनसरीबाट ५५ जना विदेशी फेला
यसैबीच, लक डाउनको अवधीमा सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५५ जना विदेशी नागरिकहरुको खोजी गर्ने क्रममा फेला पारेको छ ।
विदेश गएकाहरुबाट नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले विदेशबाट आउनेहरुसँगै उनीहरुको ट्राभल हिष्ट्री हेरेर उनीहरुसँगको सम्पर्कहरुको समेत ट्रयास गर्दै आएको छ ।

यसैक्रममा लक डाउन अघि वा सोही अवधीभित्र विदेशबाट बैद्य अवैद्य रुपमा आएर बस्दै आएका मध्ये सुनसरीमा ५५ जनालाई प्रहरीले पत्ता लगाएको हो ।
यसरी फेला परेका विदेशी नागरिकहरुमा अधिकांश जिल्लाका विभिन्न मस्जिदहरुमा आश्रय लिई बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
यसरी मस्जिदमा आश्रय लिईरहेकाहरु भारत, पाकिस्तानसहित विभिन्न मुलुकबाट सप्तरीमा सम्पन्न इज्तमा सहभागी भएका छन् भने केही भारतको नयाँ दिल्लीको निजामुद्दीनमा भएको तबलिगी जमातबाट फर्किएकाहरु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी शंकास्पद रुपमा बसेका ५५ जना विदेशी नागरिकहरु फेला परेपछि लक डाउनभित्रै सुनसरीबासी त्रसित भएका छन् ।
सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेदेखि देशव्यापी रुपमा लक डाउन गरेपछि सामुहिक मन्दिर, गुम्बा, चर्च र मस्जिदमा भेला जम्मा हुन पूजा, प्रार्थना लगायतका कामहरु नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दै मस्जिदमा यसरी आएका विदेशीहरुलाई आश्रय दिने गरेको तथ्य फेला परेको हो ।

सुनसरीको इटहरी उपमहानरपालिका १८ स्थित जितपुर मस्जिदबाट ८ जना पाकिस्तानी, हरिनगर १ भुटाहा मस्जिदबाट १४ जना भारतीय, दुहवी नगरपालिका १ मा रहेको मस्जिदबाट ११ जना पाकिस्तानी, बर्जु गाउँपालिकामा रहेको मस्जिदबाट १२ जना भारतीय र भोक्राहा नरसिंह गाउँपालिकामा रहेको मस्जिदबाट १० जना भारतीय बंगालीहरु फेला परेका हुन् ।

उनीहरुमा कोरोना सक्रमण फैलिन नदिनका लागि गरिएको लक डाउनका समयमा एउटा मस्जिदबाट अर्काे मस्जिदमा बसाईं सराई गर्दै हिंड्ने गरेको पाईएको छ ।
हाल सुनसरीमा फेला परेका सबैजना सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन फागुनमा आएको दाबी गरिए पनि बसाईं सराई र सामूहिक बसार्इंका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्ने खतराले सुनसरीबासीलाई त्रसित बनाएको छ ।-गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्