Logo

लकडाउनको प्रभावकारी कार्यान्वयन गराउन मुख्यमन्त्री गुरुङको निर्देशन



कास्की, ३ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आज ‘भिडियो कन्फरेन्स’ गरेका छन् । कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा गरिएका कामका बारेमा उहाँले प्रजिअबाट जानकारी लिएका थिए ।

भिडियो कन्फरेन्स बैठकमा मुख्यमन्त्री गुरुङले सरकारले आह्वान गरेको लकडाउनलाई सबै जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा विषम परिस्थितिमा समेत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन निर्देशन दिएको बताइन्छ । साथै उहाँले कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई सहज रुपमा बजारमा आउने वातावरण मिलाउन तथा कृषि तथा पशुजन्य उत्पादनका लागि आवश्यक दाना, मल, बीउको सहज आपूर्ति मिलाउन र कुनै समस्या परेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।

जिल्लामा लकडाउन कार्यान्वयनको अवस्था, कोभिड–१९ न्यूनीकरणका लागि भइरहेका गतिविधि, शान्तिसुरक्षाको अवस्था, खाद्यान्न आपूर्ति लगायतका विषयमा जानकारी लिँदै आइपर्ने समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।

सो बैठकमा मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र सामाजिक विकासमन्त्री नरदेवी पुनसमेत सहभागी हुनुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्