Logo

सञ्चारकर्मीलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गरिएकोप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण



काठमाडौँ, ३ वैशाख : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चार प्रतिष्ठानहरुले लकडाउनभन्दा अघिको बाँकी पारिश्रमिक र लकडाउन अवधिको पारिश्रमिकसमेत उपलब्ध नगराउँदा श्रमजीवी पत्रकारहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य भएको महासङ्घले आज जनाएको छ । कोरोना सङ्क्रमणले मानवीय सङ्कट गहिरिँदै जाँदा श्रमजीवी पत्रकारले बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक प्राप्त गर्न नसक्नु तथा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले महासङ्घलाई गम्भीर र चिन्तित बनाएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहसँग माग गर्दै अन्यथा, श्रमजीवी पत्रकारको पेशागत हक र अधिकार स्थापित गर्न कानूनीलगायत सबै प्रकारको सङ्घर्षमा जाने उल्लेख गरेको छ । पछिल्लो समय नेपाल रिपब्लिका मिडिया प्रा.लिबाट प्रकाशित रिपब्लिका अङ्ग्रेजी दैनिकमा कार्यरत पत्रकारलाई बक्यौता र पछिल्लो महिनाको पारिश्रमिकसमेत उपलब्ध नगराई एकतर्फी ढङ्गबाट प्रकाशन स्थगित गरिएकोप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्ले रिपब्लिका व्यवस्थापन पक्षलाई तत्काल संवाद गरी समस्या समाधान गर्न माग गरेको छ । साथै, अहिलेको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहहरुका लागि तत्काल राहत र सहुलियत प्रदान गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्