Logo

अब विश्वभर युद्धविराम हुने



एजेन्सी, ४ वैशाख । विश्वभर युद्धविराम घोषणा हुने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेजसले विश्व युद्धविरामको घोषणा गरिरहँदा संयुक्तराष्ट्रसंघका सुरक्षा परिषदका स्थायी प्रतिनिधि राष्ट्रहरुबीच त्यसका लागि सहमति बन्न लागेको खुलासा भएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनले कोरोना भाइरस महामारीको बखत विश्वभर युद्धविरामका लागि आफूले राष्ट्रसंघ सुरक्षा परिषदका अन्य स्थायी प्रतिनिधि देशका नेताहरुसँग कुराकानी गर्दा सहमति आइसकेको खलासा गरेको हुन् । एक फ्रेन्च रेडियोमा बोल्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि समर्थन पाउने आशा व्यक्त गरे । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायी प्रधानमन्त्री बोरिस जोन्सनले विश्व युद्धविराममा आफूलाई समर्थन जनाइसकेको खुलासा गरेका हुन् । उनले रुसी राष्ट्रपति पुटिनले पनि प्रस्ताव निश्चित रुपमा मान्ने बताए ।

विश्वका शक्तिशाली देशहरुका नेताहरुसँगको कुराकानीपछि म्याक्रोनको भनाई आएको हो । विश्वभर महामारी भएको कोरोना भाइरससँग लड्न सहमति र एकता आवश्यक भएको जोड दिइरहँदा पछिल्लो घटनाक्रम विकास भएको हो । युद्धग्रस्त क्षेत्रमा युद्ध रोकी विश्व नै कोरोना भाइरसको महामारीसँग जुध्न एक हुनुपर्नेमा राष्ट्रसंघ महासचिव गुटेरेजले जोड दिदै आएका छन् ।

राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत छन् । अहिले कोरोना भाइरसको महामारी चलिरहँदा पनि सँसारका कतिपय क्षेत्रमा युद्ध भइनै रहेको छ । सिरिया, अफगानिस्तान, इराकका अलावा अफ्रिकाका कतिपय स्थानमा युद्ध हुँदा बलिया देशहरुको ध्यान त्यसतर्फ गइरहेको छ । कपितय क्षेत्रमा आफ्नो प्रभाव बनाउन बलिया देशहरुको होडवाजी चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्