काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित रिपाेर्टिङ बुझाउन निर्देशन दिएको छ। केन्द्रिय बैंकले बिहीबार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको नाममा पत्र काट्दै उक्त निर्देशन दिएको हो।
यसअघि केन्द्रिय बैंकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश लकडाउनमा गएपश्चात अवस्था सामान्य भएर कार्यालय नियमित खुलेको सात दिनभित्र रिपाेर्टिङहरु बुझाउन निर्देशन दिएको थियो तर लकडाउन लम्विदै जाँदा अझै कति समय लकडाउन हुने एकिन नहुँदा पहिलेजस्तै हरेक दिन रिपाेर्टिङ बुझाउन निर्देशन दिएको हो।
केन्द्रिय बैंकले गत चैत १२ गते अवस्था सामान्य भएपछि मात्र रिपाेर्टिङ बुझाउन भनेपछि सो पश्चात बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई रिपोर्टिङ गरेका थिएनन्।
विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को प्रभाव मूल्याङ्कन र अध्ययन समेतको लागि वित्तीय क्षेत्रको तथ्याङ्कहरु नियमित उपलब्ध हुनु पर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी नियमित रिपोर्टिङ गर्न निर्देशन दिएको हो।





प्रतिक्रिया