नेपालमा कोरोना भाइरस संक्रमित १६ जनाको अवस्था के छ (सुचीसहित)


काठमाडौं, ४ वैशाख । नयाँ वर्ष २०७७ को आगमनसँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या धमाधम बढ्यो । लगातार तीन दिन सातजना संक्रमित बढेपछि स्थिति भयावह हुनसक्ने आशंका बढ्यो । गत दुई दिनमा भने संक्रमित संख्या बढेको छैन । कुल संक्रमित संख्या १६ नै पुगेको छ भने १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । एकजना उपचारपछि नीको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ जना मध्ये ४ जना उपत्यकाभित्र र ११ जना उपत्यकाबाहिर उपचाररत छन् । सबैभन्दा बढी ५ जना सेती अस्पतालमा उपचाररत छन् । उपचाररत मध्ये ३ जना भारतीय नागरिक हुन् भने बाँकी १२ जना नेपाली हुन् । सबैको अवस्था सामान्य छ ।
पछिल्ला संक्रमितमध्ये दुईजना संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला छन् । उनीहरुको पीसीआरबाट थप परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो । उनी बाग्लुङकी हुन् । उनी त्यतै उपचाररत छिन् ।

छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो । उनी पनि बाग्लुङकै हुन् ।

सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ । उनी सेती अस्पतालमा उपचारत छन् ।

आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन् । उनी सेती अस्पतालमा उपचाररत छन् ।

नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ । उनी सेती अस्पतालमा उपचाररत छिन् ।

दशौं, एघारौं र बाह्रौं संक्रमित वीरगञ्जमा पत्ता लागेका हुन् । भारतीय नागरिक उनीहरु धर्मगुरु हुन् । वीरगञ्जको मस्जिदमा रहेका उनीहरु संक्रमित भेटिएका थिए । उनीहरु वीरगञ्जमा उपचाररत छन् ।

१३ औ संक्रमित रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको हो । उनी पनि उपचारत छन् र अवस्था सामान्य छ ।

१४ औं संक्रमित कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको हो । उनी सेती अस्पतालमा उपचाररत छिन् ।

१५ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।

१६ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य