Logo

सडक पाइलटको पीडाः खान नपाएर मर्न थालियो सरकार !



काठमाडौं, ५ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को मारमा परेका एक सडक पाइलट (गाडी चालक) ले सरकारसंग खान नपाएर मर्न थालेको गुनासो गरेका छन् ।

बा ५ ख १२६१ नम्बरको बसका चालक अर्जुन बरालले लामो समयसम्म काठमाडैंमा बेरोजगार भएर बस्नुपर्दा खानै नपाएर मर्न थालेको बताएका हुन् ।

सिन्धुलीका २८ वर्षे बराल परिवारसहित काठमाडौंको नारायणथानमा बस्छन् । उनी लकडाउन हुन्छ भन्ने थाहा नपाएका कारण घरसमेत जान नपाएको गुनासो गर्छन् ।

चैत ११ गते नै घर जानका लागि भन्दै उनी बसेको डेराबाट बिहानै चोकमा निस्कदै थिए । तर जान पाएनन् । उनले भने, ‘बिहानै गाडी पाइन्छ कि भनेर चाबहिल गएर बुझ्न निस्केको थिएँ । नारायणथानको चोकमै पुलिस आएर लाठीले त्यहाँ भएकालाई हान्न थाल्यो म पनि भागेर घर आएँ ।’

उनले आफूले पछि पनि घर जानका लागि प्रयास गरेको र प्रहरीलाई पनि भनेको तर जान नपाएको बताए ।

उनले भने, ‘विजोग भएर बसेको छु । पास लिएर जान पनि खोजें । जान पाउँदैनस् भने । सरकार खाने कुरो सकियो ।’

उनले बुढानीलकण्ठ नगरपालिकाबाट राहत लिन पनि खोजेका हुन् । तर पाएका छैनन् । उनले भने, ‘बुढानीलकण्ठ ४ नम्बर वडामा फर्म भरेको खोइ केही दिएको छैन । एक हप्ताअघि नै खाने कुरो सकिएर फर्म भरेको थिएँ ।’

उनले यति लामो समयसम्म लकडाउन होला भन्ने थाहा नभएको बताए । भने, ‘गाउँमा गए बाँचिन्थ्यो । यहाँ कसले पैसा दिन्छ र । सरकार बाहिरको दूरी खुलाए हुन्थ्यो । गाउँ भए पनि गएर बस्न त पाइन्थ्यो । अलपत्र परियो ।’

सरकारले चैत ११ गतेदेखि नै लकडाउन गरेपछि सार्वजनिक सवारी साधनहरु चलेका छैनन् । लकडाउन बैशाख १५ गतेसम्म लगाइएको छ ।

अझै थप्न पनि सकिने भएकाले मजदूरी गरेर दैनिकी गुजार्नेहरुलाई सबैभन्दा बढी समस्या परेको छ । राहत बाँड्दा पनि न्यायोचित व्यवहार नभएको गुनासो आइरहेको छ । –साँघुबाट



प्रतिक्रिया दिनुहोस्