Logo

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान



भद्रपुर, ६ वैशाख : आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा रु ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार रु ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । सोही मागबमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँअनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उनको भनाइ छ । राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ । उनी भद्रपुर नगरपालिका– १० मा बस्दै आएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्