Logo

अध्यादेशको तरङ्ग : प्रचण्डदेखि नेपाली सेनासम्म सतर्क



चैत ८, काठमाण्डौ । पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

उता नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउनु बेमौसमी बाजा भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्नु रहेको भन्दै यो बेलामा अरु विषयमा ध्यान लगाउन नहुने उल्लेख गरेका छन् ।

त्यसैगरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाएका छन् । कोरोना कहरबाट जनताको प्राण रक्षा गर्नुपर्ने बेलामा सरकारले घीनलाग्दो काम गरेको यादवको भनाइ छ ।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् । सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको महतोको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाजले सरकारले सोमबार ल्याएका दुई अध्यादेशलाई ‘प्रतिगमनउन्मुख कृत्य’ को संज्ञा दिँदै यसको विरुद्ध एकजुट हुन आह्वान गरेको छ ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डामा मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर समसामयिक विषयमा छलफल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्