Logo

अमेरिकाले अस्थायीरुपमा आप्रवासन रोक्ने



अमेरिका, १० वैशाख । अमेरिकाले अस्थायी रुपमा आप्रवासीलाई रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिकामा अस्थायी रोक लगाउने कार्यकारी आदेश जारी गर्ने भन्दै ट्वीट गरेका हुन् । यस लगत्तै ट्रम्प प्रशासन कार्यकारी आदेशको ड्राफ्ट तयार गर्नतिर लागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी नागरिकको रोजगार संरक्षण गर्न भन्दै अमेरिकामा अस्थायीरुपमा आप्रवासन रोक्ने लागेको ट्रम्पले सोमबार राती गरेको ट्वीटमा उल्लेख थियो ।

अधिकारीहरुले कार्यकारी आदेशको ड्राफ्ट बनाउनका लागि गृहकार्य गरिरहेका छन् । तर कार्यकारी आदेशको ड्राफ्ट र भाषा तयार हुन अझै केहीदिन लाग्नसक्ने जनाइएको छ । ट्रम्पको कार्यकारी आदेशले अमेरिकामा ग्रिनकार्ड र कामदार भिसामा अस्थायी रुपमा रोक लगाउन सक्नेछ ।अमेरिकामा कोरोनाको महामारीका कारण बेरोजगारी दर उच्च देखिएपछि केही कामदार भिसा र ग्रिनकार्डमा आप्रवासन झण्डै ४ महिनाका लागि रोक्ने तयारी ट्रम्पले गरिरहेको जनाइएको छ ।

डिभीबारे ट्रम्प पहिलेदेखि नै अनुदार रहदै आएका कारण यसले डिभी लोटरीबाट अमेरिका आउनेहरुलाई पनि प्रभाव पार्नसक्ने जनाइएको छ ।यो बर्षका लागि डिभी विजेताहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसकेको हुनुपर्ने प्रावधान छ । कोरोनाको महामारीका कारण अधिकांश दूतावास र कन्सुलेटहरुले डिभी लोटरी भिसा जारी गर्न स्थगित गरिसकेका छन् । रोजगारमा आधारित ग्रिनकार्डपनि प्रभावित हुनसक्ने देखिन्छ । तर परिवारमा आधारित ग्रिनकार्ड ढिलो भएपनि अरु प्रभाव भने पर्नेछैन ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्