Logo

ओलीको जातिवादी र क्षेत्रीयतावादी तहसनहस पार्ने ‘ब्रम्हास्त्र’ माथि बाबुरामको ‘गोयबल्स अस्त्र’



दीपेश केसीः ‘प्रेम र युद्धमा सबै जायज हुन्छ ।’ आखिर राजनीतिमा जतिसुकै नैतिकता र सिद्धान्तको व्याख्या गरेपनि सबैभन्दा बलियो अस्त्र प्रोपोगान्डा नै हो भन्ने कोरोना महामारीमा अमेरिका र चीन जस्ता देशहरुले मूल्य र मान्यता बिर्सेर दुनियाँलाई दिग्भ्रमित पार्ने गरी गर्दै आएको गतिविधिबाट बुझ्न सकिन्छ । सामान्य नागरिकका लागि यस्ता घटना बुझिनसक्नुको हुन्छ र एकोहोरो झुट दोहोराएपछि सत्य जस्तै लाग्न थाल्छ । अहिले नेपाली राजनीतिमा यस्तै हुनथालेको छ ।

कुनैबेला नाकाबन्दीको बेलामा केपी शर्मा ओलीले प्रोपोगान्डाकै बलमा आफूलाई राष्ट्रवादी देखाएका थिए । यही पगरी भिरेर उनले गत संसदीय चुनावमा सफलता हासिल गरेका थिए । यतिसम्मकी उनले चिढ्याएको मधेशबाट नै तत्कालिन नेकपा एमालेले उल्लेख्य मत ल्यायो । राजनीतिमा प्रोपोगान्डा सबैभन्दा बलियो हतियार हो भन्ने हिटलरका मुख्य रणनीतिकार डा. जोसेफ गोयबल्सले प्रमाणित गरिसकेका छन् ।
हिटलर आफ्ना प्रोपोगान्डामन्त्री गोयबल्सलाई दिमाग बनाएर चलेका थिए । डा. जोसेफ गोयबल्सले हिटलरलाई प्रोपोगान्डाबाटै बढी शक्तिशाली बनाइदिएका थिए । उनकै रणनीतिमा हिटलर चल्थे । कुनैपनि असत्यलाई बारम्बार दोहोर्याएर जनमानसमा फैलाइरहँदा त्यो सत्य लाग्न थाल्ने र जनताले अन्तिम सत्य ठान्ने उनको तर्क थियो । हल्लाको खेतीले राजनीतिमा बलियो हुने उपाय दुनियाँका धेरै नेताहरुले अपनाइआएका छन् । राजनीतिभन्दा भिन्न दुनियाँबाट आएका रुसका भ्लादिमिर पुटिन प्रोपोगान्डाकै बलमा बलियो हुँदै गएका थिए । अहिले उनी विश्वकै सर्वाधिक शक्शिाली नेता बनेका छन् ।

प्रोपोगान्डाको राजनीतिले नेपालमा फेरि बलियो ठाउँ बनाएको छ । गोयबल्स शैलीको प्रोपोगान्डालाई यसपटक डा. बाबुराम भट्टराईले बलियो अस्त्र बनाए । उनले समाजवादी पार्टी फुटाउन प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले फालेको ब्रम्हास्त्रलाई विफल मात्र पारेनन् उनकै लागि प्रत्युत्पादक बनाइदिए । लकडाउनको समय पारेर ओलीले समाजवादी र राजपामाथि फालेको अस्त्रको उद्देश्य आफ्ना सांसदहरुलाई बताइसकेका छन् ।

ओलीले जातिवादी र क्षेत्रीयतावादीलाई शक्तिलाई तहसनहस पार्ने उपयुक्त अवसर देखेर लकडाउन पारेर अस्त्र फालेका थिए । समाजवादी पार्टीमा उपेन्द्र यादव जस्तो मधेश केन्द्रित भई क्षेत्रीयतावादी राजनीति गर्ने नेता थिए । उपेन्द्रको उदय समुदाय विशेषको अधिकारको लागि केन्द्रित भएको राजनीतिबाट भएको थियो । उनी दुईवटा मधेश आन्दोलनका नेता हुन् । यो आन्दोलनले मधेशको अधिकार धेरै हदसम्म सुनिश्चित त गर्यो तर साम्प्रादायिक द्धेषलाई अझै जिवित राख्यो ।

अशोक राई, राजेन्द्र श्रेष्ठलगायत पूर्व एमालेको जातीयतावादी एजेन्डाले बनेको दलसँग उपेन्द्रको एकताले समाजवादी पार्टी बनेपछि यसले जातीयतावादी र क्षेत्रीयतावादीलाई जोडिदियो । यसमा डा. बाबुराम भट्टराई जस्ता कुशल रणनीतिकार मिसिएपछि ओलीलाई झस्काएको थियो । प्रधानमन्त्री भइसकेका बाबुरामले दश वर्षे हिंसात्मक माओवादी द्धन्द्धको रणनीति बनाएर क्षमता प्रदर्शन गरिसकेका थिए । उनले जातीवादी र क्षेत्रीयतावादीको गठजोडलाई ऊर्जा दिनथालेपछि यसलाई ओलीले नदरअन्दाज नगरेको हुनुपर्छ । त्यसमाथि राजपा जस्तो अर्को क्षेत्रीयतावादी दल एक बनाउने पहल हुँदै थियो ।

जातिवादी र क्षेत्रीयतावादी शक्तिलाई तहसनहस बनाउन ओलीले अस्त्र फाले । तर, त्यसमाथि उनकै दलबाट चुनौती सृजना भयो । जसलाई ओलीले खुलाइसकेका छन् । नेपालको इतिहासमा जङ्गबहादुर जत्तिकै शक्तिशाली र चतुर राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गर्दै लगेका ओलीलाई आन्तरिक व्यवस्थापन सबैभन्दा चुनौती बनेको छ । यसमा डा. बाबुराम भट्टराईको प्रोपोगान्डाको राजनीतिले अझ चुनौती थपेको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय बाबुराम र उनका सहयोगी विश्वदीप पाण्डेले प्रोपोगान्डा मच्चाइरहेको सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेका महेश बस्नेतले भन्दै आएका छन् । अहिले महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल निकै अलोकप्रीय भइरहेका छन् । यतिसम्मकी उनीहरुको विरोध गर्ने प्रतिष्पर्धा नै चलेको छ । पवित्र बन्ने गङ्गा नुहाई जस्तै भएको छ यी तिनमाथि आलोचना गर्ने प्रतिष्पर्धा । यसमा बाबुराम भट्टराईको गोयबल्स शैलीले निकै काम गरेको छ ।

सांसद अपहरण हो होइन भविष्यमा अदालतमा यो विषय प्रवेश गरेमा फैसला त्यतैबाट होला । कानुनको व्याख्या गर्नेको आफ्नै तरिका होला । डा. सुरेन्द्र यादव आफै ‘अपहरण’ भनिरहेका छैनन् । उनले ऋषि धमलासँगको अन्तर्वातामा रुँदै ‘यसलाई के भन्ने आफै भन्नुहोस्’ मात्र भनेका छन् । उनी आज अपहरणको किटानी जाहेरी दर्ता गर्न भने गएका छन् । तर, सुरेन्द्र यादव अंगरक्षक, आफन्त कौशल यादव, तत्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंक अगरियासँगै महेश बस्नेत, किसान श्रेष्ठ र भूतपूर्व आजीपीबाट अपहरित भए भएनन् ? यो गम्भीर प्रश्न गर्ने विषय हो । साजवादीका अर्का सांसद प्रदीप यादवले आफूहरु पार्टी फुटाउने तयारीमा भएको स्वीकार्दै सुरेन्द्र यादवको अपहरण नभएको र मन्त्री खान काठमाडौं आएको अभिव्यक्ति दिएका छन् । यसरी यो काण्ड विवादै विवादमा परेको छ ।

एउटा विषय सत्य हो कि सुरेन्द्र यादवलाई पार्टी फुटाउन फकाउन महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल पुगेकै हुन् । यसका लागि उनलाई मन्त्री पदको लालचा देखाएर काठमाडौं ल्याएका हुन् । त्यसबीच उनले बाबुराम भट्टराईसँग सम्पर्क गरी एम्बुस बनाउन सहयोगी भूमिका खेलेको उनकै भनाईबाट खुलस्त भएको छ । यसरी हेर्दा यो घटना पार्टी फुटाउने चलखेल अन्र्तगत भएको देखिन्छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा दर्जनभन्दा बढी पटक रामचन्द्र पौडेलसँग संसदमा भोटिङ भएको साक्षी छ । त्यसबीच सांसद फकाउने प्रतिष्पर्धा चलेको थियो । सांसद किनबेचका घटनाहरु नेपाली राजनीतिमा चल्दै आए । त्यो ठिक बेठिक राजनीतिमा नैतिकताको विषय हो । तर, नेपालमा हालसम्म प्रधानमन्त्री बनेका कोही पनि दुधले नुहाएका होइनन् । शक्ति हत्याउन कोतपर्वलगायत काण्डहरु राणाकालमा भएका थिए । पञ्चायतकालमा हार्डलाइन र सफ्टलाइनर पञ्चहरुको अस्वस्थ प्रतिष्पर्धा चलेकै हो । बहुदलकालमा सांसद किनबेचमा धेरै नराम्रा घटना इतिहासमा अंकित छन् । गणतन्त्रकाल पनि यसबाट अछुतो हुनसकेको छैन । साम, दाम, दण्ड भेदको राजनीति गरेर प्रधानमन्त्री बनेकाहरु अहिले पनि देशको राजनीतिमा हालीमुहाली छन् ।

बाबुराम भट्टराईले गोयबल्स शैलीमा अपहरण सिद्ध गर्न खोजेपनि यसको वास्तविकता समयले उजागर गर्दै लानेछ । जातिवादी र क्षेत्रीयतावादी नेताहरुलाई पछि लगाएर उनी प्रहरीमा उजुरी गर्न पुगेको दृश्य अहिले सुरक्षित नै छ । कम्युनिस्ट राजनीतिबाट गैरकम्युनिस्ट भेष धारण गर्दै बाबुरामले काँग्रेसको विकल्पमा दल स्थापित गर्न खोजेको देखिदैछ । जसको जग जातिवाद र क्षेत्रीयतावाद नै हो । अहिले पार्टी एक हुँदाको सम्झौतामा पनि यसको आशय र शब्द उल्लेख छ । १० वैशाखको मध्यराति भएको पार्टी एकताको सहमतिपत्रमा ‘बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, बहुसांस्कृतिक राष्ट्रवादको विकास गर्ने’ विषय उल्लेख छ । यसले जातिवादी र क्षेत्रीयतावादी एजेन्डालाई केन्द्रमा राखेको बुझ्न सकिन्छ । कुनैबेला माओवाद विचार देशमा लागू गर्न रणनीतिकार बनेका बाबुराम अहिले जातिवाद र क्षेत्रीयतावादको एजेन्डा देशमा लागू गर्ने प्रयासका शिल्पकार बनेका छन् । यसको नेता पनि उनी देखिइसकेका छन् । बाबुरामले यस अभियानमा आफूलाई कुशल रणनीतिकार प्रमाणित गरिसकेका छन् । उनको एम्बुसमा चतुर प्रधानमन्त्री केपी शर्मा ओली समेत परेका छन् ।

ओलीको ब्रम्हास्त्र समेत विफल पारिदिएका छन् । यसका लागि उनले गोयबल्स शैलीलाई मुख्य हतियारका रुपमा प्रयोग गर्दै आएका छन् । अब राजनीतिमा ओलीको अस्त्र उनले भनेजस्तै जातिवादी र क्षेत्रीयतावादीविरुद्ध साँच्चै थियो भने त्यसको विफलताले नयाँ मोड ल्याउन सक्छ । नेपाली राजनीतिमा फेरि जातिवादी र क्षेत्रीयतावादी हावी हुने निश्चित छ । यो भनेको समाजवादी पार्टी र राजपाको एकतापत्रमा भनेजस्तै परम्परागत शक्तिहरु काँग्रेस र कम्युनिस्टको विकल्पमा जातिवादी र क्षेत्रीयतावादी शक्ति हावी हुने संकेत हो । अहिले महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालको बदनामीमा आनन्द लिनेहरुले समेत भोलिको दिनमा जातिवादी र क्षेत्रीयतावादीबाट भोग्नुपर्ने चुनौतीको सामना गर्नुपर्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्