Logo

महराको पनि प्रधानमन्त्री ओलीलाई साथ, बालुवाटारमा मन्त्रीबाहेक ६२ सांसद भेला



काठमाडौं, १७ बैशाख । पूर्व सभामुख कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ । संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु भेला भएका छन् । सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको पक्षमा आजै एक सय जना सांसद उभिने जानकारी दिए । उनले भने,”अहिले नै मन्त्रीबाहेक ६२ जना सांसद भेला भैसकेका छौं । हामीले हस्ताक्षर चाहीँ गरेका छैनौं ।” तर, सचिवालय बैठकमा हस्ताक्षरसहित प्रस्तुत हुन आफूहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको उनको भनाई छ ।

रोचक त के छ भने पूर्व माओवादी केन्द्रका सांसदहरुले समेत ओलीलाई साथ दिने भएका छन् । यसअघि लेखराज भट्टले आफू ओलीको पक्षमा उभिएको भन्दै प्रचण्डको साथ छोडेको स्पष्ट सन्देश दिईसकेका छन् । त्यस्तै, प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका पूर्वसभामुख महराले पनि उनको साथ छोडेको स्रोतको दाबी छ ।

महराले त्यसको छनक सचिवालय बैठक बस्नुपुर्व नै एक विज्ञप्ती निकालेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । महराले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि असर गरिरहेकाले नेताहरु भाइरसविरुद्ध लड्न एकजुट हुनुपर्नेमा विभाजनमा जानु दुःखद् भएको बताएका छन् । उनले लकडाउनको अवस्थामा मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको बताएका छन् ।

महराद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् ।’

विज्ञप्तीमा थप भनिएको छ,‘यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।’



प्रतिक्रिया दिनुहोस्