Logo

सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्ने



काठमाडौं, बैशाख १८ । सरकारी वकिलले कालोबजारी गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थपकारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालले वर्तमान गम्भीर परिस्थितिमा पनि कालोबजारी गरेको उल्लेख गर्दै सरकारी वकिल सिर्जना ढकालले अग्रवाललाई थुनामा नै राखेर मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गरेका हुन् ।

कालोबजारी गरेको आरोप लागेका अग्रवालले कालोबजारी तथा केही सामाजिक सुधार ऐन–२०३२ विपरीतको कार्य गरेको आरोप लगाई सरकारले मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारले दायर गरेको अभियोगपत्रमा उक्त ऐनको दफा २ को खण्ड क, दफा ३, दफा ५ लगायत बमोजिम कारबाही हुन माग गरेको थियो । दफा २ को खण्ड क मा कुनै वस्तुको तोकिदिएको मोलभन्दा बढी मँल्यमा सामान बिक्री गर्न नुहने उल्लेख गरिएको छ ।

दफा ३ मा कुनै पनि वस्तुको सयकडा २० भन्दा बढी नाफा हुने गरी बिक्री गर्न नहुने प्रावधान राखिएको छ । दफा ५ मा बजारमा कृत्रिम अभाव हुने गरी कुनै पनि वस्तुको सञ्चय गर्न र त्यस्तो वस्तु बढी नाफामा बिक्री गर्न नहुने स्पष्ट गरिएको छ ।

व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको छ । सरकारले अग्रवालविरुद्ध १५ लाख ७८ हजार ९ सय १३ रुपियाँ ७ पैसा बिगो कायम गरेको छ । कसँर गर्दा प्रयोग गरेको २०९–एचसीसी–१ नम्बरको पजेरो गाडी र बरामद भएको थर्मल गन जफत गर्न अभियोगपत्रमा माग गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्