ओलीले शासन गर्ने आधार गुमाए: कांग्रेस


काठमाडौं, बैशाख १८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले मुलुकमा शासन सञ्चालन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकले नैतिकताका आधारमा सरकारको नेतृत्व छाड्न ओलीसँग माग गरेको छ।

‘सरकारको क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचनमार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘तसर्थ नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर कांग्रेसले गरेको छ।’

ओली नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्ने र नेपालको संविधानका मूलभूत भावना भत्काउने कार्यमा निरन्तर लागेको कांग्रसले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।