Logo

बामदेवले ओलीका लागि झलनाथलाई मनाएको त्यो रात



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष पदमा बाजी नमारेको भए नेपालको राजनीतिको अहिलेको अवस्था नै फरक हुन्थ्यो । यो आफैमा परिकल्पना होला तर ओली निकै कठिन चुनाव जितेर तत्कालिन नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेको चुनावमा ओलीका प्रतिद्धन्द्धी माधवकुमार नेपाल थिए । पार्टीलाई लामो समय नेतृत्व गर्दै आएका नेपालले ओलीलाई पराजित गर्ने आँकलन गरिएको थियो । महाधिवेशनको अन्तिम अवस्थासम्म नेपाल एक सय मतले अगाडि रहेको आँकलन गरिएको थियो । बामदेव गौतम ओलीको समर्थनमा खुलिसकेका थिए । तैपनि, नेपालको पल्लाभारी थियो ।

ओली पक्षधरले टाउको गन्दै चुनाव अगाडि नै हिसाब निकालिरहेका थिए । अन्तमा ५० मतले पछाडि रहेको हिसाब निस्कयो । त्यसपछि ओलीले फेरि बामदेवको सहयोग मागे । अर्का प्रभावशाली नेता झलनाथ खनाललाई फकाउन सके मात्र चुनाव जितिने अवस्था बन्यो । ओली आफैले भनेर झलनाथ मान्नेवाला थिएनन् । त्यसका लागि बामदेवको साथ लिइयो ।

असारको अन्तिम हप्ता नेकपा महाधिवेशन चलिरहेको थियो । मतदानमा जाने निश्चित भइसकेको थियो । बामदेवले असारको अन्तिम हप्ताको एक रात साँढे १० बजे सम्पर्क गरी झलनाथ खनाललाई पुल्चोकथित मन्त्रिनिवासको आफ्नो क्वार्टरमा बोलाए । केपी शर्मा ओलीका विश्वापात्र एक नेता पनि पुगे । बामदेवले तीन घन्टा भन्दा बढी खनालसँग छलफल गराए । खनालका पनि आफ्नै शर्त थिए । भविष्यमा मिलेर जाने र महत्वपूर्ण पदमा अवसर आउँदा एक अर्कालाई सहयोग गर्नेसम्मको उधारो सहमतिहरु भए । खनाल रातको २ बजे घर फर्किए । बामदेवका कारण पासा पल्टियो । एक रातअघिसम्म चुनावी अंकगणितमा पछाडि रहेका ओली अगाडि पर्ने माहोल तयार भयो ।

भित्री सहमति अनुसार खनालका विश्वासपात्रहरुले माधवकुमार नेपाललाई मत दिएनन् । बाँकी नेपाल पक्षधर पदाधिकारी र केन्द्रीय सदस्यमा मत दिएपनि मतपत्रमा अध्यक्ष पदमा खाली राखेर मतदान गरे । यसरी ५७ जति मत माधव नेपाल पक्षधरको खाली नै गयो । प्यानललाई मत हालेपनि अध्यक्ष पदमा खाली राखेर ब्यालेटमा खसालियो । खाली नराखी माधव नेपाललाई मत गएको हुन्थ्यो भने जित उनकै हुन्थ्यो ।

३९ मतले माधवकुमार नेपाल केपी शर्मा ओलीसँग पराजित भएका थिए । ओलीले १००२ मत ल्याउँदा माधव नेपालले ९६३ ल्याएका थिए । ३१ असार २०७१ मा मतगणना सकिँदा अध्यक्ष पदमा खाली राखेर प्यानललाई मतदान गरिएको मतपत्रको चर्चा चल्यो । यसले निकै खैलाबैला भयो । अन्तिम समयमा झलनाथ खनालले माधव नेपाललाई असहयोग गरेको विषय चर्चामा आयो । वास्तवमा भएको यही थियो । यसमा बामदेव गौतमको मुख्य भूमिका थियो ।

अहिले गौमले यही योगदान नबिर्सन भन्दै केपी शर्मा ओलीलाई सजग गराएको बुझिएको छ । गौतमले बेला बेलामा ओलीलाई महत्वपूर्ण समयमा साथ दिने गरेका छन् । तत्कालिन एमालेको अध्यक्षको चुनाव, संसदीय दलको चुनाव देखि हालैको अध्यादेशमा विवादमा पर्दा समेत साथ दिए । तर, गौमम छ पटक धोका भइसकेको भन्दै ओलीलाई विश्वास गरिहाल्ने अवस्थामा नरहेको बुझिएको छ । गौतमलाई यसपटक विश्वसनीय आधार तयार नभएसम्म ओलीलाई साथ नदिने निकटस्थले सम्झाएको बुझिएको छ ।

गौमलाई ओलीले प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गरेका छन् । तर, प्रतिनिधिसभा सदस्य नभएका गौतम प्रधानमन्त्री बन्न संविधान बाधक रहेको छ । यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने हुन्छ जुन ओलीबाट होस् भन्ने गौतम चाहन्छन् । जुन उनले पार्टीको हाइकमाण्ड बैठक र एक्ला एक्लै बैठकमा राख्ने गरेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्