Logo

विप्लव समूहको तारोमा पूर्व आइजीपी सर्वेन्द्र खनाल, सुरक्षा थ्रेट



काठमाडौं, १९ वैशाख । यतिबेला पूर्व आइजीपी सर्वेन्द्र खनाल विवादमा मुछिएका छन् । आफूलाई खनालसहित सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव प्रहरी, सरकारी वकिल कार्यालय हुँदै राष्ट्रिय मानवअधिकार आयोग पुगिसकेका छन् ।

सांसद यादव एक्लै गएका छैनन् । उनको अघिपछि जसपा नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत पनि पुगिरहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र सरकारी वकिलको कार्यालय काठमाडौंले अपहरण मुद्दा दर्ता गर्न नमानेपछि हिजो यादव राष्ट्रिय मानवअधिकार आयोग पुगी उजुरी दर्ता गरेका छन् ।

उजुरी दर्ताप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि खुशी व्यक्त गरेको छ । विप्लव समूहको आधिकारिक धारणा आउने गरेको इरातोखबरले मुख्य समाचार नै बनाएर कुमार पौडेल हत्या आरोपित सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरण मुद्दा आयोगमा दर्ता भनेको छ ।

उसले सर्वेन्द्र खनालका अलावा बस्नेत र श्रेष्ठ मिलेर प्रलोभन र भ्रष्टाचार मुद्दा लगाएर फसाउने धम्की दिएर अपहरण गरेको दाबी गरेको छ ।
इरातोखबरले लेखेको छ, ‘सर्वेन्द्र खनालको प्रत्यक्ष नेतृत्वमा परिचालित घुमुवा प्रहरीहरु कृष्णदेव (केडी) साह, श्री विनोद साह र सत्यनारायण मिश्रले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।’ (हेर्नुहोस्: विप्लवनिकट अनलाइन इरातोखबरको समाचार)

राष्ट्रिय मानवअधिकार आयोगले ओली सरकारलाई खनालमाथि काबारही गर्न निर्देशन दिएपनि नगरेको इरातोखबरको तर्क छ । कुमार पौडेलको हत्या र अपराधका मुख्य दोषी सर्वेन्द्र खनाल भनी लेख्दै हालसम्म कुनै कारबाही नगरिएको खबर छापेको छ ।

इरातोखबरले सर्वेन्द्र खनाललाई कुमार पौडेलको हत्यामा संलग्न भनी किटानसहित लेख्नुलाई अर्थपूर्ण मानिएको छ । खनाल विप्लव नेतृत्वको नेकपाको तारोमा रहेको यसबाट बुझ्न सकिन्छ । उनलाई विगतमा पनि विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको र अहिले झन् बढेको बुझिएको छ । –File Photo



प्रतिक्रिया दिनुहोस्