Logo

पार्टी एकवद्ध हुने, स्थायी समिति बैठक वैशाख २५ गते



काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते ११ बजे काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैशाख २४ गते ३ बजे बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताएका छन् । साथै बैठकले नेता बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले अब पार्टी एकतावध्द भएर कोरोना विरूध्द जुध्न अघि बढ्ने बताएका छन् । उनले सरकारका तर्फबाट र पार्टीका तर्फबाट विगतमा भएका कमी कमजोरी प्रति आत्माआलोचना गर्दै अघि बढ्ने निर्णय पनि गरेको बताइएको छ । यसैबीच राससका अनुसार नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गरिएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिएको बताएका छन् ।  पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताएका छन् । उनले कोरोनाका कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्