काठमाडौँ, २१ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ ।
विदेशबाट आयात गर्नुभन्दा आफ्नै देशमा बनाउँदा सस्तो पर्ने भएकाले यस्तो महामारीको अवस्थामा पनि गत डेढ महिनादेखि केन्द्रका इन्जिनियरहरू खटिरहेका छन् । महावीर पुनको संयोजकत्वमा निर्माणमा जुटिरहेका आविष्कार केन्द्रका अभिनव प्रबन्धक (इनोभेसन म्यानेजर) सुनिल बानियाँले भने, “यस्तो महामारीको समयमा नेपाल र जनताको रक्षामा केही सहयोग पु¥याउने सोचाइले यस्ता सरसामन बनाउन जुटेका हौँ । ”उनले थपे, “कोरोनाको महामारी भएपछि मास्कको निर्माणमा जुट्यौँ भने त्यसलगत्तै पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पीपीई०को माग बढी भएकाले त्यसैमा केन्द्रित भयौँ, अहिले बिरामीको थ्रोट स्वाब लिन कोरोना बुथसँगै अटोमेटिक भेन्टिलेटर तथा रोबोट बनाइसकेका छौँ । ”
वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले नेपालमै पाइने कच्चा पदार्थले पीपीई बनाएको जानकारी दिँदै भने, “पहिलो पटक तीनवटा निर्माण गरेर त्यसको मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई देखाएका थियौँ । उनले यतिसम्मको ठीकै हुन्छ भन्नुभएपछि बनाउन थालेको हो । ” उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनले दिएको मापदण्डअनुसार नै पीपीई बनाउन सुरु गरेको हो । हालसम्म ५८ सयभन्दा बढी वितरण गरिसकेको जानकारी उनले दिएका छन् । आविष्कार केन्द्रका इन्जिनियरहरूले पीपीईबाहेक श्वास फेर्न मिल्ने ‘अटोमेटिक रेस्क्युरेलेटर’ पनि बनाइसकेका छन् । यो ‘अटोमेटिक रेस्क्युरेलेटर’ले अस्पतालमा बिरामीलाई श्वास फेर्न सजिलो बनाउँछ भने एम्बुलेन्समा पनि बिरामीलाई राखेर लैजान सहज बनाउने पुनले बताएका छन् । (गोरखापत्रबाट )




प्रतिक्रिया