Logo

प्रचण्डले धोका दिएपछि माधव नेपाल समूह संकटमा, स्थायी कमिटिमा वारपार गर्ने तयारी



काठमाडौँ, २२ बैशाख । सचिवालय बैठकमार्फत एकता विरोधी गतिविधि नगर्ने सन्देश प्रवाह गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक द्वन्द्व सेलाएको छैन ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नो अडानबाट नाटकिय रुपमा पछि हटेपछि पार्टीभित्रको माधव कुमार नेपाल खेमा शसंकित भएको छ । ओली र दाहालको अकस्मातको मिलनपछि एक्लिएको माधव नेपाल खेमाले आज आगामी रणनीतिबारे छलफल गर्न छुट्टै भेलाको आयोजना गरेको छ । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको माधव समूहले स्थायी कमिटि बैठकमा सचिवालयका तर्फबाट पेश हुने प्रतिवेदनका आधारमा थप रणनीति तय गर्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले प्रधानमन्त्री ओलीले आत्मालोचना गरेपनि नेताहरुबीच के सहमति भयो भन्ने कुरा खुलिनसकेको आफूहरु शंकाको सुविधा प्रयोग गर्न बाध्य भएको बताएका छन् ।

हिजो सचिवालय बैठक सुरु हुनुपूर्व दुई अध्यक्ष ओली र दाहालबीच करिव ४० मिनेट वालुवाटारमा एक्लै कुराकानी भएको थियो । उक्त भेटभन्दा अघि नै ओलीले प्रभावशाली नेता वामदेव गौतमलाई आफ्नो गुटमा तानिसक्नुभएको थियो । त्यो ४० मिनेटको भेटमा ओली र दाहालबीच पार्टी तथा सरकार सञ्चालनमा महत्वपूर्ण सहमति बाँडफाँड भएको विश्लेषण भइरहेको छ । ओलीसँगको त्यो भेटपछि माधव नेपालसँगको गठबन्धन त्यागेर प्रचण्डले धोका दिएको नेपाल खेमामा चर्चा भइरहेको छ । तर माधव नेपाल निकट नेकपाका नेता खतिवडा धोका र एकताको कुनै परिभाषा नै नभएको बताएका छन् । यदि दुई अध्यक्ष मिलेर अर्को पक्षलाई धोका दिइएको हो भने त्यसले पार्टीलाई क्षति पु¥याउने उनले बताएका छन् । अब बस्ने स्थायी कमिटि बैठकले सबै विवादहरुको छिनोफानो गर्ने उनले बताएका छन् ।

४० मिनेटको भेटमा ओली र दाहालबीच के सहमति भयो भन्ने कुरा रहस्यको पर्दामै छ । तर उक्तभेटपश्चात दुवै नेताहरुको सचिवालयको प्रस्तुति विश्लेषण गर्दा शक्ति बाँडफाँडमा महत्वपूर्ण सहमति भएको अनुमान गरिएको छ । राजनीतिक विश्लेषक लोकराज बराल उत्तरको छिमेकी चीनले नेकपामा खेलेको हस्तक्षेपकारी भूमिकाले ओली दाहालको मलिन सम्भव गराएको दाबी गर्नुहुन्छ । योसँगै पार्टीमा आफ्नै विश्वासपात्र मानिएका नेताहरुको बलियो साथ नपाउँदा दाहाल ओलीको राजीनामाबाट पछि हटेको उनको दाबी छ । दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि सुरु भएको नेकपाको आन्तरिक कलह तत्कालका लागि साम्य भएको देखिएको छ । तर प्रचण्ड–ओलीको मिलनले मात्रै तत्कालका लागि पार्टीको फुट र सरकारमाथि आइलागेको संकट टरेपनि पार्टीको आन्तरिक जीवन चलायमान हुन नसक्ने माधव नेपाल खेमाको चेतावनी छ । (रेडियोएनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्