Logo

स्थानीयवासी र प्रहरीबीच झडप, चार घाइते



लहान, २२ वैशाख : लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । झडपका क्रममा चार जना स्थानीयवासी सामान्य घाइते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताउनुभयो । वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको उहाँको भनाइ छ । यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताउनुभयो । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।

यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो । वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो ।

म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ

मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक पवन मुन्धडालाई पक्राउ गरेको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिनुभयो । पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिनुभयो ।

यसअघि सदरमुकाम सिरहामा कालोबजार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै वन कर्मचारीको गस्ती टोलीले सिरहाको लहान नगरपालिका–१७ स्थित राजदेवी सामुदायिक वनभित्र अवैधरुपमा कटान गरिएको साखु तथा खयरका काठ दाउरा बरामद गरेको छ ।

अवैधरुपमा काठ दाउरा कटान गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले साखु र खयर जातको काँचो काठ दाउरा कटान गरिएको अवस्थामा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि तस्कर फरार भएको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्